धनुषाका १७ वर्षीय यादव ‘ग्लोकल टिन हिरो नेपाल २०२५’ सम्मानित

काठमाडौं । धनुषाका १७ वर्षीय अभियन्ता तथा सामग्री निर्माता कृष यादवलाई ‘गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२५’ को उपाधि प्रदान गरिएको छ। ललितपुरको द प्लाजामा आइतबार सम्पन्न विशेष समारोहमा ग्लोकल प्रा.लि.ले यादवलाई सम्मानित गरेको हो।

विगत एक दशकदेखि सञ्चालन हुँदै आएको ग्लोकल टिन हिरो पहलले शैक्षिक क्षेत्रबाहिर असाधारण उपलब्धि हासिल गर्ने किशोर–किशोरीलाई पहिचान गर्दै आएको छ। यस वर्षको संस्करणमा यादव शीर्ष ६ प्रतिस्पर्धीमध्येबाट छनोट हुँदै विजेता बनेका हुन्।

प्रतियोगिताको अन्तिम सूचीमा स्याङ्जाकी १७ वर्षीया मानुषी न्यौपाने, कपिलवस्तुका १९ वर्षीय जलवायु न्याय अभियन्ता निश्चल ढुङ्गाना, जुम्लाका १५ वर्षीय नीति अभियन्ता अक्सफोर्ड आचार्य, सर्लाहीकी १८ वर्षीया कृषि उद्यमी रेनुका सिंह र रूपन्देहीका १८ वर्षीय एआई डेभलपर सफल पौडेल परेका थिए।

सामाजिक रूपमा जिज्ञासु कन्टेन्ट क्रिएटरका रूपमा परिचित यादवले सार्वजनिक बहसदेखि वृत्तचित्र निर्माणसम्म सक्रियता देखाएका छन्। उनी ‘TNC Unscripted’ युट्युब च्यानलमा ‘TNC Debates’ का होस्ट तथा निर्माता हुन्। त्यस्तै, ‘The Nepali Comment’ (४ लाखभन्दा बढी सब्सक्राइबर) का एसोसिएट क्रिएटिभ हेडका रूपमा उनले सामाजिक–राजनीतिक र ऐतिहासिक विषयमा वृत्तचित्र निर्माण गरेका छन्।

यादव हिमालयन भाषाविज्ञान ओलम्पियाड नेपालका राष्ट्रिय संयोजकसमेत हुन्। ‘प्रोजेक्ट विवेक’ मार्फत उनले काठमाडौं उपत्यकाका ४८० भन्दा बढी विद्यार्थीलाई समेटेर शिक्षा प्रणालीबारे सर्वेक्षण गरेका छन् भने ‘प्रोजेक्ट स्टिच’ सह–स्थापना गरेर आदिवासी कपडाबाट आधुनिक झोलाहरू उत्पादन गर्दै आएका छन्।

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२५ को कार्यक्रममा कूटनीतिज्ञ, राजनीतिज्ञ, शिक्षाविद्, उद्यमी, युवा नेता तथा सेलिब्रेटीहरूको उपस्थिति रहेको थियो। यस वर्षको संस्करण युरोपियन युनियन, भारतको दूतावास, प्लान इन्टरनेसनल लगायतका संस्थाहरूको सहकार्यमा सम्पन्न भएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री