काठमाडौँ । नेपाली बजारमा पिरो चाउचाउको पर्याय बनेको ‘करेन्ट नुडल्स’ले काठमाडौँको शंखमूलमा आफ्नो तेस्रो विशेष आउटलेट ‘करेन्ट पोइन्ट’ सञ्चालनमा ल्याएको छ । हट एण्ड स्पाइसी नुडल्स सेग्मेन्टमा युवापुस्ताको रोजाइमा परेको करेन्टको उत्पादक यसोदा फुड्सले आफ्नो लोकप्रिय आउटलेट विस्तार गरेको हो ।
बुटवल र काठमाडौँको अनामनगरमा सञ्चालित आउटलेटहरूको सफलता र उपभोक्ताको बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले यो नयाँ शाखा खोलेको हो । नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको दर खाने दिनको अवसर पारेर सञ्चालनमा ल्याइएको यस आउटलेटले चाडपर्वको माहोलमा नयाँ स्वाद पस्कने लक्ष्य राखेको छ ।
‘करेन्ट पोइन्ट’को यो नयाँ शाखामा ग्राहकले ‘नूजा’, ‘यम्मी स्लर्प’, ‘क्रिस्पी रोल्स’ र ‘चिज पकेट’ जस्ता बिल्कुलै नयाँ र आकर्षक परिकारको स्वाद लिन पाउनेछन् । यसका साथै, ग्राहकले आफ्नो स्वाद र रुचिअनुसार मसलाको मात्रा रोज्न सक्ने सुविधाले यसलाई थप आकर्षक बनाएको छ ।
उद्घाटन समारोहमा बोल्दै यसोदा फुड्सका अध्यक्ष चुन्न प्रसाद पौडेलले बुटवल र अनामनगरमा ‘करेन्ट पोइन्ट’ले पाएको अपार मायाले नै थप विस्तारका लागि हौसला मिलेको बताए । उनले भने, “काठमाडौँका नुडल्स पारखीहरू, विशेष गरी पिरो र चट्पटा स्वाद मन पराउनेहरूका लागि शंखमूललाई पनि एउटा उत्कृष्ट गन्तव्य बनाउने हाम्रो लक्ष्य हो । हाम्रो यो नयाँ यात्राले यहाँका उपभोक्ताहरूको स्वादको चाहनालाई अझ नयाँ उचाइमा पूरा गर्नेछ भन्ने आशा छ ।”
कार्यक्रममा कम्पनीका ग्लोबल सीईओ जीपी शाहले करेन्ट स्न्याक्स तथा नुडल्सका विविध उत्पादनबारे जानकारी गराएका थिए ।
सन् २०१७ मा स्थापित यसोदा फुड्सले ‘करेन्ट’ ब्रान्डअन्तर्गत पिरो चाउचाउका साथै चिज बल्स, स्टिक्स, पोट्याटो क्र्याकर्स जस्ता विभिन्न खाजाहरू उत्पादन गर्दै आएको छ । स्थानीय नेपाली स्वादलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा प्रस्तुत गर्नु कम्पनीको मुख्य विशेषता मानिन्छ । हाल कम्पनीले आफ्ना उत्पादनहरू नेपालभरका साथै विश्वका २२ भन्दा बढी देशमा निर्यात गर्दै नेपाली ब्रान्डलाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।




