टिकटक स्टार हुँदै कलाकारितासम्म : मिस पबिको संघर्ष र सफलताको कथा (भिडियो कुराकानी)

सामाजिक सञ्जाल टिकटकबाट उदाएर सुदूरपश्चिमको मौलिक भाषा र संस्कृतिलाई देशभर चिनाउन सफल कलाकार मिस पवि आज धेरैका लागि प्रेरणाको स्रोत बनेकी छिन् । डडेलधुराको एउटा सामान्य गाउँबाट कलाकारिताको रङ्गीन संसारसम्मको उनको यात्रा जति रोचक छ, त्यति नै सङ्घर्षपूर्ण पनि । तीजको रौनकता बढिरहेको अवसरमा, न्यूज दैनिककी संवाददाता जमुना बस्नेतले मिस पबिसँग उनको जीवन, सङ्घर्ष, सफलता र भविष्यका योजनाहरूबारे गरेको कुराकानीको सम्पादित अंश:-

न्यूज दैनिकमा स्वागत छ यहाँलाई ।
धेरै-धेरै धन्यवाद ।

अहिले तीजको रौनक छ, तपाईंको तीज कस्तो चल्दैछ ?
मेरो त भदौ १ गतेदेखि नै दर खाने कार्यक्रम चलिरहेको छ । आज पनि तीज मनाउनै आएकी हुँ । समग्रमा, यो सालको तीज निकै रमाइलो भइरहेको छ ।

डडेलधुराको एउटा सामान्य गाउँबाट टिकटक स्टार हुँदै आज एक सफल कलाकारसम्मको यात्रा तय गर्नुभएको छ । यहाँसम्म आइपुग्दा कस्ता सङ्घर्षहरू झेल्नुपर्‍यो ?
मलाई लाग्छ, जीवनमा सङ्घर्ष निरन्तर गरिरहनुपर्छ । सधैँ सुखमात्र वा दुःखमात्र हुँदैन । मेरो यात्रामा पनि सुखद् र दुःखद् दुवै क्षणहरू आए । तर म आफूलाई अझै पनि त्यो उचाइमा पुगिसकेको मान्दिनँ, यात्रा जारी छ । अहिलेसम्मको यात्रालाई फर्केर हेर्दा मिश्रित अनुभव छ, तर समग्रमा रमाइलो नै छ ।

एउटा गाउँबाट आएर सामाजिक सञ्जालमा स्थापित हुन पक्कै पनि कठिन भयो होला, होइन ?
साँच्चै भन्नुपर्दा, मलाई त्यति धेरै कठिन भएन । किनभने मेरो परिवार निकै सहयोगी (Supportive) हुनुहुन्थ्यो । जब आफ्नो घरपरिवारले साथ दिन्छ, तब बाहिरी दुनियाँले जे-सुकै भने पनि खासै मतलब नलाग्ने रहेछ । परिवारको साथ नै मेरो सबैभन्दा ठूलो शक्ति हो ।

तपाईंले टिकटक भिडियोमार्फत सुदूरपश्चिमको भाषालाई निकै प्रचार गर्नुभयो । यसमा प्रशंसा र आलोचना दुवै पाउनुभयो होला । यसलाई कसरी सामना गर्नुभयो ?
हामी जुनसुकै ठाउँमा गए पनि आफ्नो धरातल, आफ्नो धर्म, संस्कृति र भाषालाई कहिल्यै बिर्सनुहुँदैन । नेपालभित्रै पनि कति धेरै भाषा र भेषभूषाहरू छन्, यो हाम्रो पहिचान हो । जहाँसम्म आलोचनाको कुरा छ, तपाईंले कुनै राम्रो काम गरिरहनुभएको छ भने नकारात्मक टिप्पणीहरू आइहाल्छन् । बाटो कहिल्यै सिधा हुँदैन, मोडहरू त आउँछन् नै । त्यसैले म सकारात्मक कुराहरूलाई ग्रहण गर्छु र नकारात्मक कुराहरूबाट प्रभावित हुन्नँ ।

अचेल तपाईंलाई चलचित्रमा पनि देख्न थालिएको छ । भविष्यमा कलाकारितालाई नै निरन्तरता दिने योजना छ ?
मेरो बच्चादेखिको सपना नै कलाकार बन्ने थियो । अरूलाई डाक्टर, पाइलट बन्ने रहर हुन्थ्यो होला, तर म कलाकारितामै रमाउन चाहन्थेँ । टिकटकले मलाई त्यो सपना पूरा गर्न एउटा ठूलो प्लेटफर्म दियो, जहाँबाट मैले आफूलाई र आफ्नो भाषालाई चिनाउने मौका पाएँ । आज राम्रा कलाकारहरूसँग काम गर्न पाइरहेकी छु र आगामी दिनहरूमा पनि यही क्षेत्रमा निरन्तर लागिरहने योजना छ ।

‘माग्ने राजा’ चलचित्रमा तपाईंको भूमिका काटियो भन्ने चर्चा छ नि, वास्तविकता के हो ?
हो, यसबारे मैले केही अन्तर्वार्तामा बोलिसकेको छु । सुरुमा मलाई एउटा राम्रो भूमिका दिइएको थियो । तर सुटिङ हुँदै गर्दा उहाँहरूलाई मेरो काममा के चित्त बुझेन कुन्नि, मलाई जानकारी नदिई मेरो ठाउँमा अर्कै कलाकारलाई राख्नुभएछ । यो कुरा मैले सुटिङ सकिएपछि समाचारमार्फत थाहा पाएँ । यदि मैले अभिनय गर्न सकिनँ भन्ने लागेको थियो भने त्यो कुरा मलाई सिधै भन्नुपर्थ्यो, मिडियामा समाचार बनाउनु पर्दैनथ्यो । मैले पाउनुपर्ने पूरा पारिश्रमिक पनि पाएकी छैन । चलचित्रमा मेरो एउटा मात्र दृश्य राखिएको छ । म मिडियालाई पनि मेरो बारेमा नकारात्मक समाचार नबनाइदिनुहुन अनुरोध गर्न चाहन्छु ।

  • हेर्नुहोस् पूरा कुराकानी :- 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री