काठमाडौं । नेपालमा प्रोटोन मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले पर्यटकीय नगरी पोखरामा एकैपटक १० वटा ‘प्रोटोन इमास ७’ इलेक्ट्रिक एसयूभी ग्राहकलाई हस्तान्तरण गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। एक विशेष समारोहका बीच सम्पन्न यो ऐतिहासिक हस्तान्तरणले नेपालमा प्रोटोनका विद्युतीय सवारीसाधनप्रति बढ्दो लोकप्रियता र ग्राहकको गहिरो विश्वासलाई उजागर गरेको छ।
प्रोटोन मलेसिया र जगदम्बा मोटर्सका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा आयोजित उक्त कार्यक्रमले पोखरेली ग्राहकहरूमा विद्युतीय सवारीप्रतिको उत्साहलाई प्रमाणित गरेको छ। कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले पोखरावासीले भविष्यको यातायातलाई अँगाल्दै स्वच्छ र स्मार्ट परिवहन प्रणालीप्रति देखाएको अभिरुचिको प्रशंसा गर्नुभयो।
“यो केवल कार हस्तान्तरण मात्र होइन, यो हामीप्रतिको विश्वासको उत्सव हो,” भेटवालले भन्नुभयो, “यो हरित र समृद्ध नेपाल निर्माणको यात्रामा एक महत्त्वपूर्ण सुरुवात पनि हो।”
पूर्ण रूपमा विद्युतीय एसयूभी ‘प्रोटोन इमास ७’ ले आफ्ना अत्याधुनिक विशेषताहरूका कारण छोटो समयमै ग्राहकको मन जित्न सफल भएको छ। यसमा रहेको शक्तिशाली १६० किलोवाटको मोटर, फराकिलो भित्री भाग, आधुनिक सुरक्षा प्रणाली र उद्योगमै सबैभन्दा लामो ८ वर्षको ब्याट्री वारेन्टीजस्ता विशेषताले यसलाई बजारमा प्रतिस्पर्धी बनाएको छ। कम्पनीले यो एसयूभी स्टाइल, प्रदर्शन, प्रविधि र किफायतपनको उत्कृष्ट संयोजन भएको दाबी गरेको छ।
जगदम्बा मोटर्सले ग्राहकको सुविधालाई ध्यानमा राख्दै आकर्षक फाइनान्सिङ योजना, भरपर्दो आफ्टर सेल्स सेवा र देशभर सुविधाजनक चार्जिङ समाधानहरू उपलब्ध गराउँदै आएको छ। यी सुविधाहरूले विद्युतीय सवारी खरिद प्रक्रियालाई थप सहज र लाभदायक बनाएको छ।
कम्पनीले देशभर आफ्नो शोरूम र सेवा सञ्जाल विस्तार गर्दै प्रोटोनको उपस्थिति बलियो बनाउँदै लगेको छ। यसै क्रममा आगामी दिनमा अझ धेरै नेपाली परिवार र व्यवसायलाई विद्युतीय सवारीतर्फ आकर्षित गर्दै दीगो यातायातको प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्य लिएको कम्पनीले जनाएको छ।




