राज्यको सुविधा र तलब खानेका सन्तान सार्वजनिक विद्यालयमा भर्ना गर्ने बाध्यकारी व्यवस्था राखौँ : सांसद बस्नेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद ज्ञानु बस्नेतले देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा गइसक्दा पनि शिक्षाको स्थिति भने नाजुक नै रहेको बताएकी छन् । उनले सार्वजनिक विद्यालयको गुणस्तर सुधारका लागि राज्यबाट तलब तथा सेवा-सुविधा लिनेहरूका छोराछोरीलाई सार्वजनिक विद्यालयमै भर्ना गर्नुपर्ने बाध्यकारी व्यवस्था कानुनमै उल्लेख गर्न माग गरेकी छन् ।

बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले शिक्षा क्षेत्रमा अहिले पनि थुप्रै समस्याहरू विद्यमान रहेको र यसमा व्यापक सुधारको खाँचो रहेको औंल्याइन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा हुँदा पनि शिक्षाको क्षेत्रमा धेरै प्रगति गर्न सकेनौँ,’ उनले भनिन्, ‘शिक्षाको क्षेत्रमा धेरै समस्या हाम्रो अगाडि खडा भए । जसको कारणले आज हाम्रो देश जसरी अघि बढ्नुपर्ने हो त्योअनुसार बढ्न सकेन ।’

सांसद बस्नेतले ल्याउन लागिएको शिक्षा विधेयकले शिक्षा क्षेत्रको जगलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिइन् । ‘शिक्षालाई अघि बढाउने शिक्षा विधेयकले महत्वपूर्ण भूमिका निर्वाह गरोस् । शिक्षा क्षेत्रमा जग बलियो खडा गरौँ भनेर हामी लाग्यौँ,’ उनले बताइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री