नख्खु कारागारमा रविलाई भेटेपछि प्रचण्डको खुलासा- ‘भैरहवामा नाजुक अवस्थामा पुग्नुभएको रहेछ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नख्खु कारागारमा भेटवार्ता गरेका छन् । बुधबार कारागार पुगेर लामिछानेसँग भेट गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भैरहवा कारागारको बसाइँमा लामिछानेले गम्भीर शारीरिक र मानसिक पीडा भोगेको र हाल उनको स्वास्थ्य अवस्था कमजोर देखिएको बताए ।

अध्यक्ष प्रचण्डले लामिछानेको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै भने, “भैरहवामा हुँदा स्वास्थ्य स्थिति नाजुक हुन खोजेको रहेछ। यहाँ (नख्खु) आएपछि सुधार हुँदैछ, तर उनी निकै दुब्लाएका छन्, अनुहार हेर्दा नै कमजोर भएको प्रष्ट देखिन्छ।”

प्रचण्डका अनुसार, सभापति लामिछानेले भैरहवा कारागारको अवस्थासँग तुलना गर्दा नख्खु कारागारमा आफूलाई धेरै सहज र राम्रो महसुस भइरहेको बताएका छन् । “रविजीले नख्खु कारागार प्रशासनको पनि प्रशंसा गर्नुभएको छ,” उनले थपे ।

केही समयअघि भैरहवा कारागारमा रहँदा लामिछानेले त्यहाँको अवस्था र आफूमाथि भएको व्यवहारप्रति निरन्तर असन्तुष्टि र गुनासो व्यक्त गर्दै आएका थिए । सोही गुनासो र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उनलाई केही समयअघि काठमाडौंको नख्खु कारागारमा स्थानान्तरण गरिएको हो । 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री