पोखरा । ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सेवासँगै अतिरिक्त सुविधा प्रदान गर्ने क्रममा प्रभु बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण साझेदारी गरेको छ । बैंकले पोखरा महानगरपालिका, वडा नं. २७, तालचोकस्थित माछापुछ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि.सँग एक सम्झौता गरी आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।
बुधबार आयोजित एक कार्यक्रममा प्रभु बैंक लिमिटेड, तालचोक शाखाका प्रबन्धक श्री प्रकाश पौडेल र माछापुछ्रे पोलीक्लिनिकका तर्फबाट चिकित्सा निर्देशक डा. प्रकाश भट्टराई तथा सञ्चालन निर्देशक श्रीमती भावना भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
सम्झौता अनुसार, प्रभु बैंकका ग्राहक, कर्मचारी तथा उनीहरुका परिवारजनले माछापुछ्रे पोलीक्लिनिकमा उपलब्ध हुने विभिन्न स्वास्थ्योपचार सेवामा ५ देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यो सुविधाले बैंकका सेवाग्राहीलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज र सुलभ पहुँच पुर्याउने विश्वास लिइएको छ ।
कार्यक्रममा बोल्दै तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले बैंक आफ्ना ग्राहकको वित्तीय साझेदार मात्र नभई जीवनका अन्य पक्षमा समेत सहयोगी बन्न चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नारालाई आत्मसात् गर्दै अघि बढेका छौं । यो सम्झौता त्यसैको एक उदाहरण हो, जसले हाम्रा ग्राहकलाई प्रत्यक्ष लाभ पुग्नेछ ।”
माछापुछ्रे पोलीक्लिनिकका चिकित्सा निर्देशक डा. प्रकाश भट्टराईले प्रभु बैंक जस्तो प्रतिष्ठित वित्तीय संस्थासँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै आफ्नो संस्था अत्याधुनिक उपकरण र दक्ष स्वास्थ्यकर्मीहरुमार्फत गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।




