काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० श्रृङ्खलाअन्तर्गत नेपालले पहिलो जित दर्ता गरेको छ । नेपालले आज भएको खेलमा होबर्ट हुरिकेन्सलाई ६६ रनले पराजित गरेको हो ।
सिरिजमा नेपालले यसअघि खेलेका तीन खेलमा पराजित भएको थियो ।
जितका लागि नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको होबर्ट हुरिकेन्सले १६.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय १४ रन मात्रै जोड्न सक्यो ।
नेपालका लागि नन्दन यादवले सर्वाधिक ५ विकेट लिए । उनले तीन ओभरमा १७ रन खर्चेर ५ विकेट लिएका हुन् ।
यस्तै, कप्तान रोहित पौडेल, कुशल भुर्तेल, रिजन ढकाल, सन्दीप लामिछानेले समान १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन जोडे । ओपनर आसिफ शेखले २९ रन बनाउँदा अर्का ओपनर कुशल भुर्तेलले २७ रन बनाए ।
भीम सार्कीले १८ रन बनाए । कप्तान रोहित पौडेलले ९ रन थपे ।
कुशल मल्लले ६ रन मात्रै जोड्न सके । करन केसीले १ रनको योगदान दिए । लोकेश बम २५ रनमा रनआउट रहे ।
उनले ११ बलको सामना गरेका थिए । नन्दन यादव पनि १ रनमा नटआउट रहे ।




