- महिला उद्यमीको नेतृत्व विकास र पहुँच विस्तार गर्ने लक्ष्य, प्रदेशदेखि नगरसम्म अभियानलाई तीव्रता
काठमाडौँ । महिला उद्यमीहरूको सङ्गठनलाई देशका तीनै तहमा विस्तार गर्दै उनीहरूको नेतृत्व क्षमता विकास गर्ने लक्ष्यका साथ महिला उद्यमी महासंघ नेपालले आफ्नो सङ्गठनात्मक अभियानलाई तीव्रता दिएको छ । यसै क्रममा महासंघले बुधबार लुम्बिनी प्रदेश र कोहलपुर नगरपालिकामा आफ्नो समिति गठन गर्दै अभियानलाई थप सशक्त बनाएको हो ।
नेपालगन्जमा आयोजित एक विशेष समारोहमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा दुवै समितिको घोषणा गरिएको हो । महासंघले यसअघि कोशी र कर्णाली प्रदेशमा समिति गठन गरिसकेको छ भने अब बाँकी प्रदेशहरूमा पनि क्रमशः विस्तार गरिने जनाएको छ ।
लुम्बिनीमा सरस्वती र कोहलपुरमा अञ्जनाको नेतृत्व
नवगठित लुम्बिनी प्रदेश समितिको अध्यक्षताको जिम्मेवारी बाँकेकी उद्यमी सरस्वती शर्मा पराजुलीले पाएकी छन् । ९ सदस्यीय तदर्थ समितिको उपाध्यक्षमा सुनिता चन्द राना (पाल्पा), सचिवमा अनिता खड्का (रुपन्देही) र कोषाध्यक्षमा अन्जु गुरुङ (बाँके) चयन भएका छन् ।
यसैगरी, कोहलपुर नगरपालिका स्तरीय समितिको नेतृत्व उद्यमी अञ्जना पाण्डेले गरेकी छन् । पाण्डेको अध्यक्षतामा गठित ११ सदस्यीय समितिमा अन्य पदाधिकारीहरूको जिम्मेवारी भने चाँडै बाँडफाँट गरिने बताइएको छ ।
स्थानीय तहसम्म महासंघलाई पुर्याउने लक्ष्य
नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहण गराउँदै महासंघकी केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले २३ वर्षको लामो इतिहास बोकेको महासंघलाई अब हरेक तहमा सशक्त बनाइने बताइन् । “हामीले महासंघलाई स्थानीय, प्रदेश हुँदै केन्द्रसम्म बलियो र जीवन्त बनाउन यो अभियान सुरु गरेका हौँ,” अध्यक्ष ज्ञवालीले भनिन्, “यसले महिला उद्यमीहरूको आवाजलाई नीति निर्माणको तहसम्म पुर्याउन र उनीहरूको व्यावसायिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”



