काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासद्वारा अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि आवाज उठाउन उनकी आमा पद्मा र बहिनी पुष्पा इजरायल पुगेका छन् । महिनौंदेखि आफ्नो प्रियजनको अवस्था अज्ञात रहँदाको पीडा बोकेर उनीहरुले विपिनको मुक्तिका लागि अन्तर्राष्ट्रिय मञ्चमा दबाब सिर्जना गर्ने उद्देश्यले यो यात्रा तय गरेका हुन् ।
विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन इजरायल सरकारले नै उनीहरुलाई बोलाएपछि सोमबार तेलअविवस्थित वेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । विमानस्थलमा उनीहरुलाई इजरायली विदेश मन्त्रालयका अधिकारी, इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित तथा नेपालका लागि पूर्वराजदूत हानन गोदार लगायतले स्वागत गरेका थिए । विमानस्थलमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग कुरा गर्दै विपिनकी आमा पद्माले भक्कानिँदै भनिन्, ‘म मेरो छोरो विपिनलाई लिन आएकी हुँ । मेरो छोरालाई मुक्त गराएर हामीसँगै घर पठाइदिनुस्, सबैमा विनम्र अनुरोध छ ।’
बहिनी पुष्पाले आँसु झार्दै भनिन्, ‘मेरो दाजु पढ्नका लागि आउनु भएको थियो, हाम्रो कसैसँग दुश्मनी छैन । उहाँलाई विनासित्ती नराख्नुस् । हामी उहाँलाई लिन धेरै टाढाको देश नेपालबाट आएका हौं ।’
कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भासी घर भएका विपिन जोशी कृषि विषयमा ‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत इजरायल गएका थिए । ७ अक्टोबर २०२३ मा हमासले इजरायलको किबुज अलुमिममा आक्रमण गरेदेखि विपिन सम्पर्कमा छैनन् । सोही त्रासदीपूर्ण घटनामा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने हमास लडाकुले विपिनसहित २५१ जनालाई बन्धक बनाएका थिए ।
युद्धविरामका क्रममा केही बन्धकलाई हमासले मुक्त गरे पनि विपिनको अवस्था अज्ञात नै छ । नोभेम्बर २०२३ देखि उनको ‘साइन अफ लाइफ’ अर्थात् जीवित रहेको कुनै सङ्केत प्राप्त नभएकाले उनको जीवनप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ । नेपाल सरकारले उनको रिहाइका लागि कूटनीतिक पहल जारी राखेको बताए पनि अहिलेसम्म कुनै ठोस प्रगति हुन सकेको छैन ।
इजरायली विदेश मन्त्रालयका अधिकारीहरूका अनुसार, विपिनकी आमा र बहिनीलाई संयुक्त राष्ट्रसंघको कार्यालयमा उपस्थित गराई उनको मुक्तिका लागि दबाब बढाउन आग्रह गर्ने तयारी छ । इजरायल बसाइका क्रममा उनीहरूले इजरायली राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री, सेना प्रमुख र हमासविरुद्धको कारबाहीमा खटिएका कमान्डरहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ । साथै, विपिनलाई हमास लडाकुले बन्धक बनाएको दक्षिण इजरायलको किबुजमा लगेर घटनाबारे जानकारी गराइने बताइएको छ ।




