काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ एक लाखभन्दा बढी अवलोकनकर्ताको कीर्तिमानी उपस्थितिसहित सोमबार सम्पन्न भएको छ । ६ दिनसम्म चलेको यो प्रदर्शनीले नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ उत्साह र आयाम थपेको छ ।
गत श्रावण २१ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको एक्स्पोमा सवारी साधनका नयाँ मोडल तथा प्रविधिबारे जानकारी लिन सर्वसाधारणको घुइँचो लागेको थियो । आयोजकका अनुसार, पहिलो दिन १५ हजार, दोस्रो दिन १३ हजार ५ सय, तेस्रो दिन १९ हजार ५ सय, चौथो दिन २१ हजार ५ सय, पाँचौँ दिन २२ हजार र अन्तिम दिन ७ हजार ८ सय गरी कुल एक लाखभन्दा बढी दर्शकले एक्स्पोको अवलोकन गरेका थिए । एक्स्पोमा सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, कूटनीतिक नियोगका पदाधिकारी, उद्योगी, व्यवसायीदेखि सामान्य सर्वसाधारणसम्मको बाक्लो उपस्थिति रहेको थियो, जसले यसको व्यापकतालाई प्रमाणित गरेको छ ।
समापन समारोहलाई सम्बोधन गर्दै नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो अपेक्षाभन्दा भव्य रूपमा सफल भएकोमा हर्ष व्यक्त गरिन् । उनले भनिन्, ‘यो पछिल्लो ६ दिन एकदम अद्भुत रह्यो । तपाईंहरूले यो एक्स्पोलाई साँच्चिकै नेपालको सबैभन्दा ठूलो अटो एक्स्पो भएको पुष्टि गर्नुभयो । एक लाखभन्दा बढी दर्शक, प्रत्येक स्टलमा भएको बिक्री र मोबिलिटीसम्बन्धी छलफलमा भएको उत्कृष्ट सहभागिताले नाइमालाई नेपालको मोबिलिटी क्षेत्रमा नयाँ आयामको विकास गर्न प्रेरणा मिलेको छ ।’
उनले एक्स्पोका प्रायोजक नेशनल इन्श्योरेन्स र एभरेष्ट बैंकलगायत सम्पूर्ण साझेदारहरूको सामूहिक योगदानले यो सफलता सम्भव भएको बताइन् । यस पटकको एक्स्पो सवारी साधनको प्रदर्शनीमा मात्र सीमित रहेन । नाइमाले एक्स्पोको दौरान पाँच दिनसम्म नेपाल पुलिस क्लबमा निःशुल्क सिकाई सत्रहरू सञ्चालन गरेको थियो । नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलालका अनुसार, नेपाल र भारतका प्रतिष्ठित विज्ञहरूको सहभागितामा सम्पन्न यी सत्रहरूले नाइमा यस क्षेत्रको समग्र विकासमा प्रतिबद्ध रहेको सन्देश दिएको छ । उनले भविष्यमा पनि सरकार, सरोकारवाला र उपभोक्ताहरूको सहभागितामा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।
५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको सहभागिता रहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ ले सवारी साधन मात्रै प्रदर्शन गरिएको नेपालकै सबैभन्दा ठूलो एक्स्पोको पहिचान बनाएको छ । यसले कोभिडपछिको सुस्त बजारलाई चलायमान बनाउनुका साथै अटोमोबाइल क्षेत्रका लागि एक महत्वपूर्ण मञ्च प्रदान गरेको छ ।




