काठमाडौँ । सानिमा बैंकले चुनौतीपूर्ण आर्थिक अवस्थाका बीच पनि आफ्नो नाफामा सामान्य वृद्धि गर्न सफल भएको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण अनुसार, खुद नाफा १८ करोड रुपैयाँले बढेर २ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ३९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको वित्तीय स्वास्थ्यका मुख्य सूचकहरू मानिने खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार देखिएको छ । बैंकले खुद ब्याज आम्दानी ६ अर्ब १८ करोडबाट बढाएर ६ अर्ब ३५ करोड पुर्याएको छ भने सञ्चालन मुनाफा ३ अर्ब ४७ करोडबाट बढेर ३ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।
नाफा वृद्धिको एउटा मुख्य कारण कर्जा नोक्सानी व्यवस्थाबाट १ अर्ब ८८ करोड रुपैयाँ ‘राइटब्याक’ गर्नु रहेको छ, जसले नाफाको अंक बढाउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।
तर, नाफाका सूचक सकारात्मक रहँदा बैंकले खराब कर्जालाई भने नियन्त्रणमा राख्न चुनौती सामना गरेको छ । अघिल्लो वर्ष १.७२ प्रतिशत रहेको निष्कृय कर्जा (Non-Performing Loan) को अनुपात यो वर्ष बढेर ३.०१ प्रतिशत पुगेको छ ।
यद्यपि, समग्र बैंकिङ क्षेत्रको अवस्थासँग तुलना गर्दा यो चिन्ताजनक भने देखिँदैन । अन्य अधिकांश बैंकहरूको खराब कर्जा ७ प्रतिशतको हाराहारीमा पुगेको वर्तमान अवस्थामा सानिमाको यो दरलाई नियन्त्रित नै मान्न सकिन्छ ।
लगानीकर्ताका लागि खुशीको खबर के छ भने, बैंकको वितरणयोग्य नाफा २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । यसका आधारमा बैंकले आफ्ना सेयरधनीलाई प्रतिसेयर २० रुपैयाँ ४७ पैसा बराबरको लाभांश वितरण गर्ने बलियो क्षमता राख्छ । बैंकले आर्जित नाफाबाट सरकारलाई ९९ करोड ५९ लाख रुपैयाँ कर तिरेको छ ।




