सुक्रियाको निर्णायक गोलले साउदीमाथि नेपालको संघर्षपूर्ण जित

काठमाडौं । निर्धारित ९० मिनेटसम्म गोलका लागि छटपटाएको नेपाली टोलीलाई खेलको अन्तिम समयमा सुक्रिया मियाँले जीवनदान दिएकी छिन् । पेनाल्टीको स्वर्ण अवसर गुमाउँदा जितबाट विमुख हुने देखिएको नेपालले एएफसी यु-२० महिला एसियन कप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा साउदी अरबमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो । 

भुटानको थिम्पुस्थित चामलिमिथाङ रंगशालामा शुक्रबार भएको खेलमा नेपाललाई जित दिलाउन सुक्रियाले अतिरिक्त समयमा गरेको गोल नै निर्णायक बन्यो । यो जितसँगै नेपालले समूह ‘ए’ मा २ खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएर छनोटको गणितीय सम्भावनालाई जीवितै राखेको छ ।

पहिलो खेलमा आयोजक भुटानसँग १-१ को बराबरीमा रोकिएको नेपाललाई छनोटको अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाउन प्रतियोगिताकै कमजोर मानिएको साउदीमाथि फराकिलो अन्तरको जित आवश्यक थियो । समूहको शीर्ष टोली सोझै छनोट हुने र उत्कृष्ट उपविजेताको पनि सम्भावना रहने हुँदा नेपाललाई गोलअन्तर सुधार्नुपर्ने ठूलो दबाब थियो । तर, साउदीको रक्षात्मक रणनीति तोड्न नेपाली अग्रपंक्तिलाई हम्मेहम्मे पर्‍यो ।

खेलको ३७औं मिनेटमा नेपालले अग्रता लिने सबैभन्दा सुन्दर मौका पाएको थियो । साउदी डिफेन्डर बास्माह अल्शनाइफीले पेनाल्टी बक्सभित्र सेनु परियारलाई लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । तर, स्ट्राइकर मीना देउवा प्रहार गर्ने क्रममा चिप्लिन पुग्दा उनको कमजोर शटलाई साउदी गोलकिपरले सहजै बचाइन् र नेपालले अग्रता लिने अवसर गुमायो ।

त्यसपछि पनि निरन्तर दबाब बनाए पनि फिनिसिङमा चुक्दा नेपाल जितका लागि अन्तिम समयसम्म संघर्ष गर्न बाध्य भयो । खेल बराबरीमा सकिने लगभग निश्चित भइसकेको अवस्थामा दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा सुक्रियाले गोल गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाइन् । मीना देउवाले दिएको क्रसलाई पूर्णिमा राईले चलाखीपूर्वक छाड्दा अनमार्क रहेकी सुक्रियाले कुनै गल्ती नगरी बललाई जाली चुमाएकी थिइन् ।

यसअघि, समूहको पहिलो खेलमा साबिक विजेता उत्तर कोरियाले यही साउदी टोलीलाई १५-० को विशाल अन्तरले पराजित गरेको थियो । फराकिलो जित निकाल्न नसक्दा नेपाललाई उपविजेता बनेर छनोट हुने बाटो कठिन बनेको छ । नेपालले अब समूह चरणको आफ्नो अन्तिम तथा सबैभन्दा कठिन खेल आइतबार बलियो टोली उत्तर कोरियासँग खेल्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री