खेलाडीको भविष्य खेल क्षेत्रमै सुनिश्चित गर्न सरकार गम्भीर बनोस् : राष्ट्रपति पौडेल

  • म्याट्रिक्स फाइटर नाइट विजेता ढाँटलाई शीतल निवासमा सम्मान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय मञ्चमा देशको गौरव बढाउने खेलाडीहरूको भविष्य खेलकुद क्षेत्रभित्रै सुरक्षित गर्न सरकारले विशेष योजनासहित काम गर्नुपर्नेमा जोड दिएका छन् ।

भारतमा हालै सम्पन्न ‘म्याट्रिक्स फाइटर नाइट’ को उपाधि जितेर राष्ट्रको नाम चम्काएका नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटको सम्मानमा शनिबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले खेलाडीहरूलाई देशमै भविष्य देख्ने वातावरण बनाउनु राज्यको प्रमुख दायित्व भएको बताए ।

“देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीले कीर्तिमान र सफलता हासिल गर्न सक्दछन्,” खेलाडीहरूको मनोबल उच्च राख्न राज्यले खेल्नुपर्ने भूमिकाबारे ध्यानाकर्षण गराउँदै राष्ट्रपति पौडेलले भने ।

‘बझाङको बाघ’ उपनामले परिचित फाइटर ढाँटको सफलतालाई राष्ट्रिय गौरवको विषय मान्दै राष्ट्रपति पौडेलले उनको अटुट समर्पण, खेल कौशल र कडा मिहिनेतको प्रशंसा गरे । “रवीन्द्र ढाँटले आफ्नो खेल कौशल, सामर्थ्य, शक्ति र खेलप्रतिको निरन्तर समर्पणले यो उपाधि जित्नु सम्पूर्ण नेपालीहरूका लागि गौरवको विषय हो,” उनले भने ।

खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक रूपमा तन्दुरुस्त बनाउने मात्र नभई समग्र व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै राष्ट्रपतिले यस क्षेत्रको विकासका लागि सरकार, सम्बन्धित सङ्घसंस्था र निकायहरू अझ प्रभावकारी ढङ्गले क्रियाशील हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमको अन्त्यमा राष्ट्रपति पौडेलले ढाँटको सफलताको यात्रामा सहयोगी भूमिका खेल्ने परिवार, प्रशिक्षक र सम्पूर्ण शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री