काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय रहँदा अधिकांश स्थानमा मौसम बदली भई वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेकाले आगामी २४ घण्टामा देशका धेरै स्थानमा मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले आज एक विशेष बुलेटिन जारी गर्दै विशेषगरी कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा पूर्ण बदली रहेको छ भने बाँकी स्थानमा साधारणतया मौसम बदली भई मधेस प्रदेशलगायत विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा कोशी प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । बाँकी भूभागका थोरै स्थानहरूमा पनि वर्षा हुनेछ । यसैगरी, कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति: देशभर मौसम साधारणतया बदली रहनेछ। कोशी र मधेस प्रदेशका केही स्थानहरूमा तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । राति विशेषगरी कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाले देशभर मनसुन सक्रिय रहेकाले नदी तथा खोलामा पानीको बहाव बढ्ने, भूक्षय हुने, र सडक तथा हवाई यातायातमा समेत अवरोध आउन सक्ने भन्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । विशेषगरी भारी वर्षाको सम्भावना औँल्याइएका कोशी र सुदूरपश्चिम प्रदेशका बासिन्दालाई थप चनाखो रहन आग्रह गरिएको छ ।




