कक्षा १२ को नतिजा सार्वजनिक: उत्तीर्ण प्रतिशतमा उल्लेख्य सुधार, ६१.१७% पास

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ, जसमा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यो नतिजा गत वर्षको तुलनामा उल्लेख्य सुधार हो।

सोमबार बसेको बोर्डको बैठकले नतिजा प्रकाशनको निर्णय गरेसँगै देशभरका ५ लाखभन्दा बढी विद्यार्थी तथा अभिभावकको प्रतीक्षाको घडी समाप्त भएको छ। गत वर्ष ५२ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएकोमा यस वर्ष उत्तीर्ण दर करिब ९ प्रतिशतले बढेको हो।

उत्तीर्ण प्रतिशतमा सुधार आए पनि अङ्ग्रेजी, लेखा, सामाजिक र नेपाली जस्ता मुख्य विषयहरूमा सबैभन्दा बढी विद्यार्थी ‘नन-ग्रेड’ (अनुत्तीर्ण) भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो। यसले यी विषयहरूको पठनपाठनमा चुनौती अझै कायमै रहेको देखाएको छ। लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार कुनै पनि विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीको नतिजामा ‘नन-ग्रेड’ (NG) उल्लेख गरिन्छ।

गत वैशाखमा सञ्चालित परीक्षामा देशभरका ५,२२२ विद्यालयबाट कुल ५ लाख ११ हजार परीक्षार्थी सहभागी थिए, जसमा ३ लाख ९५ हजार नियमित र १ लाख १५ हजार आंशिक तर्फका थिए।

परीक्षा सञ्चालनका लागि १ हजार ५९१ परीक्षा केन्द्र तोकिएको थियो। यस वर्ष जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी पनि परीक्षामा सहभागी थिए। जिल्लागत रूपमा मनाङबाट सबैभन्दा कम ४५ जना र काठमाडौंबाट सबैभन्दा धेरै ६८ हजार विद्यार्थीले परीक्षा दिएका थिए।

स्मरणीय छ, नेपाल शिक्षक महासंघको आन्दोलनका कारण यस वर्षको परीक्षा तालिका १० दिन पछाडि सरेको थियो। विद्यार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको आधिकारिक वेबसाइटमार्फत हेर्न सक्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री