वागमतीमा नयाँ मुख्यमन्त्रीका लागि बानियाँद्वारा दाबी पेश

काठमाडौं । वागमती प्रदेशमा राजनीतिको एउटा नयाँ अध्याय सुरु भएको छ । प्रदेश सरकारको नेतृत्वका लागि नेपाली काँग्रेस र नेकपा (एमाले) बीच अप्रत्याशित गठबन्धन बनेसँगै काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदका लागि आफ्नो दाबी पेश गरेका छन् ।

११० सदस्यीय प्रदेश सभामा काँग्रेसका ३७ र एमालेका २७ गरी कुल ६४ सांसदको बहुमतसहित बानियाँले सोमबार प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका हुन् । यो गठबन्धनले प्रदेशमा सरकार गठनका लागि आवश्यक ५६ मतको आँकडा सहजै पार गरेको छ ।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाएर सरकार गठन गर्न लागिएको हो । प्रदेश प्रमुखसमक्ष पेश गरिएको दाबीपत्रमा काँग्रेस संसदीय दलका नेता बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थापाले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।

यसअघि प्रदेश प्रमुख कार्यालयले मंगलबार दिउँसो २ बजेभित्र सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेको थियो । सोही समयसीमाभित्र दाबी पेश भएसँगै प्रदेश प्रमुखको कार्यालयले मंगलबार दिउँसो ३ बजे बानियाँलाई मुख्यमन्त्री नियुक्त गर्ने र अपराह्न ४ बजेपछि पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी गरेको  छ। यो सँगै वागमती प्रदेशले काँग्रेस र एमालेको संयुक्त सरकार प्राप्त गर्ने निश्चित भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री