काठमाडौं । संघीय निजामती सेवा विधेयकको अत्यन्तै संवेदनशील मानिएको ‘कुलिङ अफ पिरियड’ व्यवस्थामा भएको भनिएको छेडखानीबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले आफ्नो प्रतिवेदन सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा पेश गर्ने भएको छ । समितिको थपिएको ७ दिनको म्याद आइतबार सकिँदै गर्दा प्रतिवेदनलाई अन्तिम रूप दिन समिति सिंहदरबारमा जुटेको छ ।
समितिका सभापति जीवन परियारले आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै समितिलाई दिइएको कार्यादेशअनुसार छानबिन लगभग सकिएको र सोमबारको बैठकमा प्रतिवेदन बुझाउने तयारी पूरा भएको जानकारी दिए । “समितिको कामको हामी अन्तिम चरणमा पुगेका छौं । आज साँझसम्म सम्भवतः हामीले प्रतिवेदनलाई अन्तिम रूप दिएर भोलिको सभामा प्रस्तुत गर्ने तयारीमा छौं,” सभापति परियारले भने ।
विधेयक संसदमा दर्ता भइसकेपछि राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको प्रतिवेदनमा उल्लिखित ‘कुलिङ अफ पिरियड’को प्रावधानमा अनधिकृत रूपमा परिवर्तन गरिएको आरोप लागेपछि संसदले यो छानबिन समिति गठन गरेको थियो । यो विषयले संसदीय अभ्यास र मर्यादामाथि नै गम्भीर प्रश्न उठाएको थियो ।
गत असार २३ गते गठन भएको समितिलाई सुरुमा २१ दिनको कार्यावधि दिइएको थियो । उक्त समयसीमा साउन ११ गते सकिएपछि काम सम्पन्न नभएकाले समितिले थप ७ दिनको समय पाएको थियो, जुन आज सकिँदैछ ।
छानबिन समितिमा सभापति जीवन परियारसहित नेपाली कांग्रेसकी सुशीला थिङ, नेकपा एमालेका ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, नेकपा माओवादी केन्द्रका माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन कार्की सदस्य रहेका छन् । समितिले बुझाउने प्रतिवेदनले विधेयकको उक्त प्रावधानमा कसरी र कसले हेरफेर गर्यो भन्ने रहस्य खुल्ने अपेक्षा गरिएको छ ।




