-
मध्यपहाडी यात्राबाट नयाँ क्रान्तिको तयारी गर्ने उद्घोष, भने- ‘प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ’
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा एकपटक फेरि विद्रोह आवश्यक रहेको बताउँदै आफू त्यसको तयारीमा जुटेको बताएका छन् । उनले जनयुद्धदेखि हालसम्मको नेतृत्वकर्ताको हैसियतले नयाँ क्रान्ति अपरिहार्य रहेको औंल्याउँदै त्यसको तयारी सुरु भइसकेको बताएका हुन् ।
दोलखाको ‘बोत्ले हत्याकाण्ड’ को २३ औं स्मृति दिवसको अवसरमा शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘एकचोटि फेरि क्रान्ति आवश्यक छ । एकचोटि नयाँ विद्रोहबाट प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ, मेरो प्रतिबद्धता पनि यही नै हो र यसको तयारी पनि गरिरहेको छु ।’
आफ्नो योजनाबारे थप बोल्दै उनले चाँडै नै देशव्यापी अभियानमा निस्किने संकेत गरे । ‘चाँडै हामी मध्यपहाडी यात्रामा निस्किन्छौं, शहीद परिवारका घरमा गएर बस्ने, उनीहरूको दुःखसुख बुझ्ने काम गरेका छौं र आफ्नो वर्गसँग पुनः जोडिँदैछौं,’ उनले भने ।
सम्बोधनका क्रममा प्रचण्डले आफू पछिल्लो पटक प्रधानमन्त्री हुँदा ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवस घोषणा गरेर बिदा दिने निर्णय गरे पनि अदालतले त्यसलाई रोकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
कार्यक्रमको सुरुवातमा २०५९ साल साउन १८ गते दोलखाको साबिक काटाकुटी गाविस-१, बोत्लेमा तत्कालीन सुरक्षा फौजको कारबाहीमा मारिएका १५ जना माओवादी कार्यकर्ताको सम्झनामा बनाइएको वृत्तचित्र प्रदर्शन गरिएको थियो । सो घटनालाई माओवादी केन्द्रले ‘बोत्ले हत्याकाण्ड’ का रूपमा स्मरण गर्दै आएको छ ।




