खुमलटारमा प्रचण्डको ‘डिजिटल वार रुम’: पक्षमा सामग्री उत्पादन, आलोचकमाथि नजर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो छवि निर्माण र आलोचनात्मक स्वरलाई निस्तेज पार्न रणनीतिक ‘वार रुम’ सञ्चालन गरेको खुलासा भएको छ । उनको खुमलटारस्थित निजी निवासबाटै यो डिजिटल मोर्चा सञ्चालनमा ल्याइएको हो ।

डिजिटल ‘वार रुम’ यसको मुख्य उद्देश्य अध्यक्षको पक्षमा जनमत सिर्जना गर्नु तथा विरोधीहरूविरुद्ध आक्रामक ‘प्रति-प्रचार’ गर्नु रहेको उच्च स्रोतले दाबी छ । सामाजिक सञ्जालको रणनीतिक कमान्ड पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सचिवालयमा अनुभव बटुलिसकेका विश्वदीप पाण्डे र सचिवालयमा रहेका रहेका गोकर्ण भट्टले सम्हालेका छन् । उनीहरूलाई अध्यक्षको पक्षमा सामग्री उत्पादन गर्ने र त्यसलाई योजनाबद्ध रूपमा प्रवाह गर्ने मुख्य जिम्मेवारी दिइएको बुझिएको छ ।

यस टोलीमा पार्टी प्रवक्ता अग्नि सापकोटाका भतिज विष्णुप्रसाद सापकोटा ‘जुगल’ र व्यवसायी निर्मल ज्ञवालीलाई पनि औपचारिक जिम्मेवारी दिइएको छ । फेसबुकलाई मुख्य हतियार बनाएको यो टोलीले अध्यक्षको प्रशंसा, कामको प्रचार तथा पार्टी र नेतृत्वका आलोचकहरूमाथि निरन्तर कटाक्ष गर्ने र बहसमा हस्तक्षेप गर्ने रणनीति लिएको छ । सार्वजनिक पोस्टहरूमा संगठित रूपमा कमेन्ट गर्ने, भिडियो क्लिपहरू बनाएर ‘भाइरल’ गराउने र बहसमा आफू अनुकूल ‘ट्रेन्ड’ स्थापित गर्ने जस्ता काममा यो टोली सक्रिय रहेको बताइन्छ ।

यद्यपि, अध्यक्ष प्रचण्डको सचिवालयले भने ‘वार रुम’को आरोपलाई ठाडै अस्वीकार गरेको छ । प्रचण्डका पूर्व प्रेस संयोजक समेत रहेका विष्णुप्रसाद सापकोटाले यसलाई नेतृत्वलाई कमजोर बनाउन रचिएको ‘प्रोपोगाण्डा’को संज्ञा दिएका छन् । उनले भने, ‘समग्र पार्टीको नेतृत्व गरेको व्यक्तिलाई गुट बनाएको र निवासमै ‘वार रुम’ सञ्चालन गरेको भन्ने आरोप नेतृत्वलाई कमजोर पार्ने षड्यन्त्र मात्र हो ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री