काठमाडौँ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गरेको छ। बैंकको ‘७ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८८’ नामक उक्त ऋणपत्र अब दोस्रो बजारमा सर्वसाधारणका लागि खरिदबिक्री गर्न खुला भएको छ।
सात वर्ष अवधिको यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशतका दरले आकर्षक ब्याज आम्दानी गर्न सक्नेछन्। प्रति ऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका कुल २५ लाख कित्ता नेप्सेमा सूचीकरण गरिएको हो।
ऋणपत्र सूचीकरणसम्बन्धी सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले हस्ताक्षर गर्नुभएको छ।
नेप्सेका अनुसार, उक्त ऋणपत्रको कारोबार यही शुक्रबारदेखि दोस्रो बजारमा सुरु हुनेछ। लगानीकर्ताले ऋणपत्र खरिदबिक्री गर्दा आवश्यक पर्ने सम्पूर्ण शेयर रजिस्ट्रारको सेवा बैंकको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडले प्रदान गर्नेछ।



