बाढीपछिको अवरोध अन्त्य गर्दै रसुवागढी नाका दसैँअघि नै खुलाइने, बेलीब्रिज जडान तीव्र

काठमाडौँ । गत असारमा आएको विनाशकारी बाढीले मितेरी पुल बगाएपछि अवरुद्ध बनेको चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी दसैँअघि नै पुनः सञ्चालनमा आउने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चाडपर्वलाई लक्षित गरी नाका सुचारु गर्न बेलीब्रिज जडानको कामलाई तीव्रता दिइएको जानकारी दिएका छन् । 

त्रिदेशीय महत्त्वको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाको स्थलगत अवलोकनपछि मंगलबार त्रिशूलीमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री दाहालले उक्त प्रतिबद्धता व्यक्त गरे । उनले नाका सञ्चालनका लागि सम्बन्धित सबै सरकारी निकायलाई तत्काल सक्रिय हुन निर्देशन दिइएको बताए । “गल्छी–रसुवागढी त्रिदेशीय राजमार्गमार्फत नेपाल, चीन र भारतबीचको व्यापार र सम्पर्क सञ्जाल विस्तार गर्न सकिनेछ,” मन्त्री दाहालले भने, “चाडपर्वका सन्दर्भमा रसुवागढी नाका पुनः सञ्चालन गर्नु हाम्रो प्राथमिकता हो।”

चीनको केरुङ नाकासँग सीधा सम्पर्क स्थापित गर्ने यो नाका नेपालको आर्थिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण मानिन्छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले पुल बगाएपछि यो नाका पूर्ण रूपमा ठप्प थियो । हाल वैकल्पिक व्यवस्थाका लागि बेलीब्रिज जडानको काम द्रुत गतिमा अघि बढाइएको छ ।

मन्त्री दाहालले चीन सरकारको सहकार्यमा स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डको निर्माण कार्यलाई समेत चाँडै अघि बढाइने जानकारी दिए । दसैँको समयमा आयात उल्लेख्य रूपमा बढ्ने भएकाले रसुवागढी नाकाको सञ्चालनले बजारमा वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न र मूल्यवृद्धि नियन्त्रणमा सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ । नाका सञ्चालनको पूर्वाधार तयारीसँगै आवश्यक सुरक्षा र प्रशासनिक संयन्त्रलाई पनि तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री