काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा अनुशासन कायम गर्न र नियम उल्लंघनलाई निरुत्साहित गर्न कडा कदम चालेको छ । हालै सम्पन्न नगरसभाबाट पारित आर्थिक वर्ष २०८२/८३ को आर्थिक ऐनमार्फत महानगरले सार्वजनिक स्थलमा धूमपान गर्नेदेखि जथाभावी पार्किङ र विज्ञापन गर्ने कार्यमा जरिवाना रकममा उल्लेख्य वृद्धि गरेको हो ।
अब महानगरभित्र कुनै पनि सार्वजनिक स्थानमा धूमपान गरेमा प्रतिपटक पाँच सय रुपैयाँ जरिवाना लाग्नेछ । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार, सार्वजनिक स्थलमा धूमपान बढेको र यससम्बन्धी जनगुनासो निरन्तर आएपछि कडा नियम ल्याउनु परेको हो । “सार्वजनिक स्थानमा धूमपान निषेधको व्यवस्था पहिले पनि थियो, तर कार्यान्वयन फितलो हुँदा प्रभावकारी भएन,” पाण्डेले भने, “अब ऐनमै जरिवाना तोकिएपछि कार्यान्वयनमा कडाइ गरिनेछ ।”
नयाँ व्यवस्था अनुसार, तोकिएको स्थानबाहेक अन्यत्र पार्किङ गर्ने सवारी साधनलाई पनि चर्को जरिवाना लाग्नेछ । जसमा, मोटरसाइकल तथा स्कुटरलाई एक हजार, कार/जीप/भ्यानलाई दुई हजार पाँच सय, मिनीबस/मिनीट्रकलाई तीन हजार पाँच सय र बस/ट्रकजस्ता ठूला सवारीलाई पाँच हजार रुपैयाँ जरिवाना गरिनेछ ।
त्यस्तै, महानगरको स्वीकृतिविना विज्ञापन गर्ने, होर्डिङ बोर्ड राख्ने, पोस्टर टाँस्ने वा पेन्टिङ गर्ने कार्यमा कसुरको प्रकृति हेरी पाँच हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ । सार्वजनिक सम्पत्ति, स्वागतद्वार, तथा रुखबिरुवामा क्षति पुऱ्याएमा पनि पाँच सयदेखि पचास हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने ऐनमा उल्लेख छ ।
महानगरले नयाँ आर्थिक ऐनको प्रभावकारी कार्यान्वयनका लागि महानगर प्रहरीलाई निर्देशन दिइसकेको जनाएको छ । साथै, महानगरले आम नगरवासीलाई सफा, सुन्दर र व्यवस्थित सहर निर्माणको अभियानमा सहयोग गर्न अपिल गरेको छ ।




