काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले रुपन्देही–३ मा हुने उपनिर्वाचन पार्टीका लागि चुनौतीपूर्ण हुनसक्ने विश्लेषण गरेको छ । रुपन्देही–३ को उपनिर्वाचनमा मधेशवादी दलहरू एक भएर आए चुनौती हुनसक्ने निष्कर्ष कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी वैठकले निकालेको हो ।
बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकमा त्यहाँको वस्तुस्थितिबारे गम्भीर छलफल भएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका छन् । उनले भने, ‘रुपन्देहीमा गएको निर्वाचनमा विभिन्न गठबन्धनहरू पनि थिए । यो गठबन्धनलाई पर राखेर समानुपातिक पार्टीको मत हेर्न हो भने कांग्रेस पहिलो पार्टी हो । २० हजार मत प्राप्त गरेको थियो । दोस्रो भएको एमालेले १६ हजार मत ल्याएको थियो । तेस्रो पार्टी रास्वपाले १४ हजार मत ल्याएको थियो । त्यसपछि मधेशवादी दलहरू थिए । अहिलेको पोजिसन के छ भन्न गाह्रो छ ।’
उनले मधेस केन्द्रित दलहरू एक भएर लडे राम्रो उपस्थिति उनीहरूको देखिसक्नेबारे पनि चर्चा भएको जानकारी दिएका छन् । उनले थपे, ‘तर, त्यहाँ कांग्रेस नै पहिलो पार्टी हो । प्राविधिक रूपले चुनाव हारेका हौँ । भोटको अवस्था मजबुत रहेको हाम्रो निष्कर्ष छ । उम्मेदवारबारे कुरा भएको छैन । प्रमुख चुनौती एमाले, रास्वपा, मधेस केन्द्रित दल एक भए उनीहरू पनि हुन सक्छन् ।’




