काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलहरुले रोजगारी सिर्जना र राजस्व वृद्धिलाई आफ्नो मुख्य एजेण्डा बनाउनुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशको आर्थिक विकासका लागि राजनीतिक दलहरुले व्यक्तिगत आक्षेप र आरोप-प्रत्यारोपको राजनीति त्यागेर पूर्वाधार निर्माण, लगानी प्रवर्द्धन र रोजगारी सिर्जना जस्ता विषयलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।
अध्यक्ष ढकालले हाल राजनीतिक वृत्तमा “मिसन ०८४” को चर्चा चलिरहेको सन्दर्भ उल्लेख गर्दै निजी क्षेत्रको “मिसन” भनेको व्यावसायिक गतिविधि बढाएर रोजगारी र राजस्वमा वृद्धि गर्नु रहेको स्पष्ट पारे । “अहिले राजनीतिक दलहरुको एजेण्डा मिसन ०८४ भनिएको छ,” उनले भने, “निजी क्षेत्रको तर्फबाट मैले भन्नुपर्दा हाम्रो एजेण्डा रोजगारी सिर्जना गर्ने, राजस्व बढाउने र व्यावसायिक गतिविधि बढाउने हो । आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले पनि यही चाहेका छन् ।”
उनले एक अर्को राजनीतिक दललाई नराम्रो देखाएर मत तान्ने प्रवृत्तिले देशलाई फाइदा नहुने बताए । बरु, आम नेपालीको चाहनाअनुसार पूर्वाधार निर्माण, लगानी वृद्धि र रोजगारीका अवसर सिर्जना गर्नमा सबै दल एकजुट हुनुपर्ने उनको भनाइ थियो । अध्यक्ष ढकालले भने, “कुनै एउटा राजनीतिक दलले अर्कोलाई आक्षेप लगाउने र अर्कोलाई नराम्रो देखाएर आफू राम्रो हुने कामभन्दा पनि अहिले आम नेपालीको चाहना रोजगारी सिर्जना गर्ने, पूर्वाधार निर्माण गर्ने र लगानी वृद्धि गर्ने हो ।”
ढकालले हरेक नेपाली नागरिकले रोजगारी खोजिरहेको वास्तविकतालाई हृदयंगम गर्दै सोहीअनुसारका नीति तथा कार्यक्रम ल्याउन राजनीतिक दलहरुलाई आग्रह गरे । देशको आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको बताउँदै उनले सरकार र राजनीतिक दलहरुलाई सोहीअनुसार अघि बढ्न सुझाव दिए ।




