एमालेमा एकताको आह्वान, विभाजनकारी शक्तिबाट जोगिन ओलीको निर्देशन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रका विभाजनकारी तत्वहरू सक्रिय भएको भन्दै सम्पूर्ण पार्टी पंक्तिलाई एकताबद्ध भएर त्यस्ता प्रयासलाई विफल पार्न निर्देशन दिएका छन् । पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमाथि निरन्तर प्रहार भइरहेको र तोडफोड गर्ने शक्तिहरू सक्रिय रहेको बताएका हुन् ।

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, अध्यक्ष ओलीले पार्टीको एकतालाई अक्षुण्ण राख्न र सबै प्रकारका आक्रमणहरूको डटेर सामना गर्न नेता-कार्यकर्तालाई आग्रह गरेका छन् । “पार्टी विभाजन गर्ने, तोडफोड गर्नेगरी लागेका तत्त्वबाट पार्टी जोगाउन सिंगो पार्टी एक हुन निर्देशन गर्नुभएको छ,” गौतमले बैठकपछि सञ्चारकर्मीहरूसँग भने ।

बैठकले पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरूमाथि छलफल प्रारम्भ गरेको छ । विशेषगरी, पार्टी विधानमा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा रहन नपाउने व्यवस्था हटाउने प्रस्तावमाथि गम्भीर छलफल भएको छ । प्रचार विभाग प्रमुख गौतमले यी विषयमा सचिवालय र पोलिटब्युरो बैठकमा सर्वसम्मत सहमति जुटेको र कसैको पनि फरक मत नरहेको स्पष्ट पारे ।

“७० वर्षको हदम्याद, कार्यकारी पदमा दुई पटकभन्दा बढी बस्न नपाउनेबारे सचिवालयबाट पनि निष्कर्ष निकालेका छौँ । सबै सहमत भएका छौँ । कसैले पनि फरक मत छैन,” गौतमले भने, “पोलिटब्युरोले त्यही आधारमा निष्कर्ष निकालेको छ । पार्टी एक ढिक्का छ, एक भएर जानेछ ।” पोलिटब्युरो बैठकले विधानमा रहेको उमेर हदसम्बन्धी व्यवस्था खारेज गर्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकार गरिसकेको छ ।

च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन अध्यक्ष ओलीले, संगठनात्मक प्रतिवेदन महासचिव शंकर पोखरेलले र विधान संशोधन सम्बन्धी प्रतिवेदन उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा केन्द्रीय सदस्यहरूलाई धारणा राख्नका लागि तीन मिनेटको समय निर्धारण गरिएको छ ।

यसैबीच, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी राजनीतिमा पुनरागमनको विषय पनि एमालेभित्र चर्चामा छ । यद्यपि, पोलिटब्युरो बैठकमा अधिकांश सदस्यले राष्ट्रको सर्वोच्च पदबाट अवकाश लिएको व्यक्ति सक्रिय राजनीतिमा फर्कनु उपयुक्त नहुने धारणा राखेका थिए । भण्डारीको सदस्यता नवीकरणको विषय हाललाई अनिर्णित राखिएको र यसबारे पार्टीका ठूला फोरमहरूमा थप छलफलपछि निर्णय लिइने बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री