अमेरिकामा कार दुर्घटनामा परी मृत्यु भएकामध्ये एक विद्यार्थी दाङको भएको पुष्टि

काठमाडौं । अमेरिकाको लुइजियानामा शनिबार राति भएको एक कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको निधन भएको छ । ज्यान गुमाउनेमध्ये एक दाङ, तुलसीपुरका २० वर्षीय रोजिन ओली रहेको पुष्टि भएको छ । अर्का २२ वर्षीय राजन यादवको पनि मृत्यु भएको छ, उनको ठेगाना भने खुलिसकेको छैन । उनीहरू दुवै लुइजियाना टेक युनिभर्सिटीमा अध्ययनरत थिए ।

अमेरिकी प्रहरीका अनुसार, भारी वर्षाका बीच यादवले तीव्र गतिमा चलाएको कार सडक छेउको रूखमा ठोक्किएर आगलागी हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्, जसको परिचय खुलाइएको छैन ।

डाक्टर बन्ने सपना बोकेर एक वर्षअघि मात्र अमेरिका पुगेका रोजिनको निधनको खबरले दाङस्थित उनको परिवार र गाउँ नै शोकमा डुबेको छ । दुर्घटनामा शव जलेर चिन्न नसकिने अवस्थामा रहेकाले उनको अन्तिम संस्कार अमेरिकामै गर्ने तयारी भइरहेको छ । विश्वविद्यालयले रोजिनका बुवाआमालाई अन्तिम संस्कारका लागि अमेरिका बोलाउन पत्राचार गरेको परिवारले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप