घुस अडिओ प्रकरण : चौतर्फी दबाबपछि मन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौँ । ७८ लाख रुपैयाँ घुस लेनदेनको ‘डिल’ गरेको अडिओ सार्वजनिक भएपछि चौतर्फी दबाबमा परेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले अन्ततः पदबाट राजीनामा दिएका छन् । मन्त्री गुप्ताले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।

अडिओ प्रकरणले राजनीतिक वृत्तमा ठूलो तरंग ल्याएपछि र सत्तारुढ दलभित्रैबाट समेत बर्खास्तगीको माग उठेपछि प्रधानमन्त्री ओलीले उनलाई राजीनामा दिन निर्देशन दिएको स्रोतले जनाएको छ । सोमबार प्रधानमन्त्री ओलीले गुप्तालाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर यस विषयमा स्पष्टीकरण सोधेका थिए ।

राजीनामा दिएपछि सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै मन्त्री गुप्ताले आफूमाथि लागेको आरोपको सत्यतथ्य छानबिनमा सहयोग पुर्‍याउन पद त्याग गरेको बताएका छन् । ‘कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ,’ उनले भनेका छन्, ‘अब लागेको आरोप अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्रीसमक्ष राजीनामा गरेको छु ।’

गुप्ताले आफू ‘प्रविधिको उच्चतम प्रयोगको शिकार’ भएको दाबी गर्दै भविष्यमा अरू कोही यस्तो अवस्थामा नपरून् भन्ने कामना गरेका छन् । उनले देश र जनताप्रति थप जिम्मेवार बन्दै पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

गत २०८१ पुसमा रेकर्ड भएको भनिएको एक अडिओ हालै सार्वजनिक भएको थियो, जसमा मन्त्री गुप्ताले बिचौलियासँग घुसको ‘डिल’ गरेको सुनिन्छ । उक्त अडिओ अनुसार, भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनलाई नियुक्त गर्न २५ लाख र मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न ५३ लाख रुपैयाँ लेनदेनको कुराकानी भएको आरोप छ ।

यो प्रकरणमा घुस रकम राखिएको भनिएका झोला, नोटका बन्डल र नोट नम्बरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ । यद्यपि, सुरुमा मन्त्री गुप्ताले उक्त अडिओमा आफ्नो आवाज नभएको दाबी गर्दै आएका थिए । अडिओ सार्वजनिक भएलगत्तै मन्त्री गुप्ताको राजीनामाका लागि सडकदेखि सदनसम्म चर्को दबाब सिर्जना भएको थियो ।

सत्तारुढ नेपाली कांग्रेसका नेताहरू शेखर कोइराला, महामन्त्री गगन थापालगायतले तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । एमाले भित्रैबाट पनि सांसद किरणकुमार साहलगायतले संसद्‌मा बोल्दै मन्त्री गुप्तालाई बर्खास्त गरेर निष्पक्ष छानबिन गर्न माग गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री