स्पेन पठाउने गिरोहमाथि छानबिन गर्न आइजीपीलाई गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले स्पेन भ्रमणबारे छानबिन गर्न प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका छन् । सोमबार गृह मन्त्रालयमा गृहसचिव गोकर्णमणि दुवाडी र आइजीपी थापासँगको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाँदा भिजिट भिसाको प्रयोग गरी गएकाहरूमाथि छानबिन गर्न मन्त्री लेखकले निर्देशन दिएको सचिवालयले जनाएको छ ।

स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेकको टोली गएको विषय के हो ?, अरूहरू कुन संस्थामार्फत कसरी गए ?, भिसा लगायतका प्रक्रिया तथा प्रबन्ध कसले गर्‍यो ?, कसको समन्वयमा गए ? भन्ने विषयमा छानबिन गर्न निर्देशन दिएका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरोले यस घटनाको छानबिन तथा अनुसन्धान गर्ने भएको हो । यसमा कोही दोषी देखिए कारबाही समेत गरिने गृह मन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा गएका थिए । उनीसहितको प्रतिनिधिमण्डल असार २० गते फर्किएका थिए ।

स्पेन भ्रमणबाट फर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले असार २४ गते प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री सहभागीसँग स्पेन भ्रमणमा गएकाहरूमध्ये कतिपय स्वदेश नफर्किएको समाचार आएको भनेर बोलेका थिए । प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रममा अन्य नेपालीलाई पनि लगिएको र उनीहरू नफर्किएको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आरोप लगाएकी छन् ।

उनले स्पेन जान भन्दै बाटो लागेका र नफर्किएका व्यक्तिहरू भन्दै ५५ जनाको सूची र केही कागजात समेत मिडियामार्फत सार्वजनिक गराएकी थिइन् । उनको भनाइपछि कतिपय व्यक्तिहरू नेपाल नफर्किएको भनेर समाचारहरू प्रकाशन भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री