काठमाडौं । नेपाली कांग्रेसभित्र अनुशासन समितिको पछिल्लो निर्णयलाई लिएर विवाद चर्किएको छ ।
पार्टीका चार केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै समितिको निर्णय ‘पूर्वाग्रही र गुटगत’ भएको आरोप लगाएका छन् र यसबारे छलफल गर्न तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन् । केन्द्रीय सदस्यहरू मधु आचार्य, प्रतिमा गौतम, प्रकाश स्नेही रसाइली र अजयबाबु सिवाकोटीले संयुक्त रूपमा सभापति देउवालाई ध्यानाकर्षण गराउँदै अनुशासन कारबाहीको प्रक्रिया र नियतमाथि गम्भीर प्रश्न उठाएका हुन् ।
केन्द्रीय समितिको बैठक चलिरहेकै बेला त्यसलाई छलेर अनुशासन समितिको निर्णय सार्वजनिक गरिनुले नेतृत्वको अपारदर्शिता र गैरजिम्मेवारीपन झल्किएको उनीहरूको ठहर छ । उनीहरूले बुझाएको पत्रमा भनिएको छ, ‘पार्टीले महासमिति र केन्द्रीय समितिबाटै गठबन्धन नगर्ने निर्णय गरिसकेको पृष्ठभूमिमा, सोही गठबन्धनसँग सम्बन्धित विषयलाई आधार बनाएर अहिले अनुशासनको डण्डा चलाउनु आफैँमा खोटपूर्ण र विरोधाभासपूर्ण छ ।’
दोहोरो मापदण्ड अपनाएर र पूर्वाग्रही ढंगले गरिएको कारबाहीले पार्टीभित्रको एउटा पक्षलाई समाप्त पार्ने दुराशय राखेको उनीहरुको आरोप छ । यस्ता गुटगत निर्णयहरूले पार्टीलाई बलियो बनाउनुको सट्टा थप कमजोर बनाउने र आन्तरिक एकतामा गम्भीर आघात पुऱ्याउने चेतावनीसमेत उनीहरूले दिएका छन् ।




