-
आयो नुन ढुक्कले प्रयोग गर्न साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष श्रेष्ठको आग्रह
काठमाडौँ । नेपालको न्यायिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ प्रतिष्ठित ‘हेमबहादुर मल्ल सम्मान–२०८०’ बाट विभूषित हुनुभएको छ। नेपाल जनप्रशासन सङ्घ र साल्ट ट्रेडिङ कर्पोरेशनले संयुक्त रूपमा आयोजना गरेको एक विशेष समारोहमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उहाँलाई उक्त सम्मान प्रदान गर्नुभयो।
लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित सम्मान छनोट समितिले श्रेष्ठको नाम सर्वसम्मतिले सिफारिस गरेको हो। सङ्क्रमणकालीन न्याय, समावेशी लोकतन्त्र, र वातावरणीय न्यायका सवालमा उहाँका ऐतिहासिक अडान र फैसलाका साथै न्यायिक नेतृत्व र संस्थागत विकासमा पुर्याउनुभएको अतुलनीय योगदानको कदरस्वरुप उहाँलाई सम्मान गरिएको आयोजकले जनाएको छ। रु. दुई लाख नगद राशि र सम्मानपत्रसहितको यो पुरस्कार सार्वजनिक प्रशासन र व्यवस्थापन क्षेत्रमा देशकै प्रतिष्ठित पुरस्कार मानिन्छ।
समारोहमा प्रधानन्यायाधीश राउतले सम्मानित व्यक्तित्व श्रेष्ठ नेपालको समग्र न्यायिक इतिहासलाई प्रतिविम्बित गर्ने सामर्थ्य राख्ने व्यक्तित्व भएको बताउनुभयो। “विधिको शासन, न्यायिक स्वतन्त्रता र मानवअधिकारका क्षेत्रमा श्रेष्ठले पुर्याउनुभएको योगदान सदा स्मरणीय रहनेछ,” उहाँले भन्नुभयो।
सम्मान ग्रहणपछि बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले राज्यका विभिन्न अङ्गहरूले जवाफदेही भएर सेवा प्रवाह गर्न नसक्दा मुलुकमा सुशासन स्थापनामा चुनौती देखिएको बताउनुभयो। उहाँले यसतर्फ सबै सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो।
ख्यातिप्राप्त प्रशासक एवं व्यवस्थापक स्व. हेमबहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेशनको नेतृत्वमा रहँदा सार्वजनिक वितरण र व्यवस्थापनमा पुर्याउनुभएको योगदानको सम्मानमा वि.सं. २०७५ सालमा यो पुरस्कार स्थापना गरिएको हो। सङ्घले हरेक वर्ष सार्वजनिक प्रशासन, व्यवस्थापन र सेवाका क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्ति वा संस्थालाई यो सम्मान प्रदान गर्दै आएको छ।
यसअघि यो सम्मानबाट केदारभक्त माथेमा, डा. भगवान कोइराला, महावीर पुन, कुलमान घिसिङ, डा. सन्दुक रुइत, खिलराज रेग्मी, भोजराज पोखरेल, अम्बिका श्रेष्ठ, चाँदनी जोशीजस्ता विशिष्ट व्यक्तित्वहरू सम्मानित भइसक्नुभएको छ, जसले यस पुरस्कारको गरिमालाई अझ उच्च बनाएको छ।
कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष प्रदीप लाल श्रेष्ठले कर्पोरेशनले दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिमा निरन्तर काम गरिरहेको बताउनुभयो। पछिल्लो समय सामाजिक सञ्जालमा आयो नुनबारे फैलाइएको भ्रामक हल्लाप्रति ध्यानाकर्षण गराउँदै उहाँले त्यस्ता अफवाहमा विश्वास नगर्न र ढुक्क भएर आयो नुन प्रयोग गर्न आम उपभोक्तालाई आग्रह गर्नुभयो।




