पुनर्वास (कञ्चनपुर) । स्थानीय नागरिकको स्वतःस्फूर्त अभियानले पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गरेको कञ्चनपुरको पुनर्वासस्थित प्यारा तालले सुदूरपश्चिम प्रदेश सरकारको ध्यान खिचेको छ। मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको उच्चस्तरीय टोलीले बुधबार उक्त तालको स्थलगत अवलोकन गर्दै स्थानीय पहलको प्रशंसा गरेको छ।
नागरिक जागरणबाट सुरु भएको पर्यटन विकासको यो नौलो प्रयासलाई हौसला दिन मुख्यमन्त्री शाहसँगै प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का, आर्थिक मन्त्री बहादुरसिंह थापा, विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवानसिंह बिष्ट र प्रदेश सभा सदस्य विक्रम सिंह धामी लगायतको टोली प्यारा ताल पुगेको थियो।
स्थानीय सरकार र नागरिकको साझेदारीमा सदावहार पर्यटकीय गन्तव्य बन्दै गएको प्यारा ताल परिसरमा पुगेर मुख्यमन्त्रीसहितको टोलीले त्यहाँ भइरहेका विकास निर्माण र निर्माणाधीन संरचनाहरूको गहन निरीक्षण गरेको थियो। पुनर्वास नगरपालिकाका प्रमुख तोय प्रसाद शर्माले टोलीलाई तालको ऐतिहासिक महत्त्व, हाल भइरहेका प्रयास र भविष्यका योजनाबारे जानकारी गराए।
अवलोकनका क्रममा मुख्यमन्त्री शाहको टोलीले पुनर्वास क्षेत्रका अन्य धार्मिक तथा सांस्कृतिक महत्त्वका स्थलहरू दिव्य धाम, कोटिहोम मन्दिर र लोपोन्मुख रानाथारु समुदायको संस्कृति झल्काउने सङ्ग्रहालयको समेत भ्रमण गरी जानकारी लिएको थियो।
मुख्यमन्त्रीसहितको प्रदेश सरकारको उच्चस्तरीय टोलीको यो भ्रमणले स्थानीय स्तरबाट थालिएको पर्यटन विकासको अभियानलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको सङ्केत दिएको छ। यसबाट भविष्यमा प्यारा ताल लगायत पुनर्वास क्षेत्रको समग्र पर्यटकीय विकासका लागि सरकारी सहयोगको ढोका खुल्ने आशा स्थानीयले गरेका छन्।




