हेमबहादुर मल्ल सम्मान पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिने

काठमाडौं । नेपालको न्यायिक नेतृत्व, सार्वजनिक प्रशासन र संस्थागत सुधारमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै यस वर्षको ‘हेमबहादुर मल्ल सम्मान’ पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिने भएको छ। नेपाल जन-प्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले संयुक्त रूपमा प्रदान गर्ने यो सम्मान श्रेष्ठको विशिष्ट कार्यको उच्च मूल्यांकन हो।

मंगलबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा संघ र कर्पोरेशनले संयुक्त रूपमा यो घोषणा गरेका हुन्। कार्यक्रममा संघका अध्यक्ष मधुरमण आचार्यले द्वन्द्वपछिको संक्रमणकाल, शान्ति प्रक्रिया र संविधान निर्माणजस्ता ऐतिहासिक चरणमा श्रेष्ठले निर्वाह गरेको निष्ठावान् र साहसिक न्यायिक नेतृत्व अविस्मरणीय रहेको बताए। उनले भने, “संक्रमणकालीन न्याय, समावेशी लोकतन्त्र र वातावरणीय न्यायजस्ता गम्भीर विषयमा उहाँले दिनुभएका ऐतिहासिक फैसला र अडानले राष्ट्रिय जीवनमा दूरगामी प्रभाव पारेको छ। यही योगदानको कदरस्वरूप उहाँलाई सम्मानित गर्न लागिएको हो।”

लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित एक उच्चस्तरीय छनोट समितिले सर्वसम्मतिमा श्रेष्ठको नाम सिफारिस गरेको हो। समितिमा संघका अध्यक्ष मधुरमण आचार्य, साल्ट ट्रेडिङका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, प्राध्यापक यशोदा काफ्ले र पूर्व सहसचिव जीवराज कोइराला सदस्य थिए।

पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई आगामी २०८२ साल असार २६ गते आयोजना हुने एक विशेष समारोहमा सम्मान अर्पण गरिनेछ। सम्मानमा अभिनन्दनपत्रसहित नगद दुई लाख रुपैयाँ राशि रहेको छ।

कानुन र राजनीतिशास्त्रमा उच्च शिक्षा हासिल गरेका श्रेष्ठ जिल्ला, पुनरावेदन हुँदै सर्वोच्च अदालतको न्यायाधीश बन्नुभएको थियो। उहाँ नेपालको २५औँ प्रधानन्यायाधीशका रूपमा सेवानिवृत्त हुनुभएको हो।

गौरवशाली सम्मानको २१औँ संस्करण

साल्ट ट्रेडिङ कर्पोरेशनका संस्थापक प्रमुख एवं कुशल प्रशासक स्वर्गीय हेमबहादुर मल्लको स्मृतिमा वि.सं. २०५७ सालमा यो सम्मान स्थापना गरिएको थियो। सार्वजनिक प्रशासन र व्यवस्थापनको क्षेत्रमा उत्कृष्टता प्रदर्शन गर्ने विशिष्ट व्यक्तित्वलाई हरेक वर्ष यो सम्मान प्रदान गरिन्छ।

यो २१औँ पटक प्रदान गर्न लागिएको सम्मानबाट यसअघि केदारभक्त माथेमा, डा. सन्दुक रुइत, महावीर पुन, कुलमान घिसिङ, डा. भगवान कोइराला, डा. देवेन्द्रराज पाण्डे र सूर्यनाथ उपाध्यायजस्ता राष्ट्रिय गौरवका व्यक्तित्वहरू सम्मानित भइसकेका छन्, जसले यो सम्मानको गरिमालाई अझ उच्च बनाएको छ।

पत्रकार सम्मेलनमा साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, संघका निवर्तमान अध्यक्ष कृष्णहरि बास्कोटा, कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ लगायतको उपस्थिति थियो। उनीहरूले श्रेष्ठजस्ता व्यक्तित्वको सम्मानले सार्वजनिक सेवामा निष्ठापूर्वक काम गर्न भावी पुस्तालाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री