काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसंघीय सम्मेलनले नेपालको अन्तर्राष्ट्रिय साख अभिवृद्धि गरेको र अतिकमविकसित राष्ट्रहरूको समूहमा नेतृत्वदायी भूमिका स्थापित गर्न सफल भएको बताउनुभएको छ । ‘विकासका लागि वित्त’ विषयक चौंथो अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो सहभागिता र त्यसका उपलब्धिबारे प्रतिनिधिसभालाई जानकारी दिँदै प्रधानमन्त्री ओलीले उक्त भ्रमणले नेपालको आर्थिक कूटनीतिलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
सम्मेलनको अगुवाइ गर्दै नेपालले अतिकमविकसित राष्ट्रहरूको आवाजलाई विश्वमञ्चमा सशक्त रूपमा उठाएको उहाँले दाबी गर्नुभयो । “यो सम्मेलनले आर्थिक कूटनीतिका लागि विश्वव्यापी साझेदारी बढाएको छ र दिगो विकास लक्ष्य हासिल गर्ने हाम्रो अभियानमा थप ऊर्जा थपेको छ,” प्रधानमन्त्रीले भन्नुभयो, “नेपाल अन्तर्राष्ट्रिय समुदायमा एक जिम्मेवार र सक्षम मुलुकको रूपमा स्थापित भएको छ ।”
अतिकमविकसित राष्ट्रको आवाज बन्यो नेपाल
सम्मेलनमा नेपालले ४४ अतिकमविकसित मुलुकहरूको समूहको सफलतापूर्वक नेतृत्व गरेको र उनीहरूका साझा हित तथा न्यायपूर्ण विकासका पक्षमा सशक्त वकालत गरेको प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुभयो । उहाँले ‘सेभिया प्रतिबद्धता’ को प्रभावकारी कार्यान्वयनले यी मुलुकहरूको स्तरोन्नतिमा विश्वव्यापी साथ र सहयोग मिल्ने अपेक्षा व्यक्त गर्नुभयो । यसै सन्दर्भमा उहाँले नेपाल सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति हुने लक्ष्यप्रति सरकार दृढ रहेको दोहोर्याउनुभयो ।
“विकास साझेदारीका प्राथमिकतालाई जोडदार रूपमा उठाइएको छ र औपचारिक तथा अनौपचारिक विकास सहयोगका साथै जलवायु वित्तमा ठोस प्रतिबद्धताका लागि आह्वान गरिएको छ,” उहाँले भन्नुभयो, “भ्रमणले वैदेशिक लगानी भित्र्याउने आधारलाई थप बलियो बनाएको छ ।”
द्विपक्षीय सम्बन्ध र नागरिक समाजसँग संवाद
सम्मेलनका क्रममा भएका महत्त्वपूर्ण भेटवार्ताहरूबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले स्पेनका आफ्ना समकक्षी पेद्रो साञ्चेजसँग भएको द्विपक्षीय भेटले नेपाल-स्पेन सम्बन्धमा नयाँ आयाम थपेको बताउनुभयो । भेटमा आपसी सहयोग र सहकार्यका विविध पक्षमा फलदायी छलफल भएको थियो ।
त्यसैगरी, सम्मेलनको पूर्वसन्ध्यामा नागरिक समाजको भेलालाई सम्बोधन गर्दै नेपालको लोकतान्त्रिक र उदार व्यवस्थाबारे जानकारी गराएको तथा उनीहरूको खबरदारीपूर्ण भूमिकाको प्रशंसा गरेको पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही असार १४ गते स्पेन प्रस्थान गरी विभिन्न बैठक तथा छलफलमा सहभागी भएर असार २० गते स्वदेश फर्किएको थियो । उहाँले भ्रमणमा जानुअघि पनि संसद्लाई कार्यसूचीबारे जानकारी गराउनुभएको थियो ।




