किन दिउँसोभन्दा रातमा बढी दर्किन्छ मनसुनको पानी ? यस्तो छ रहस्य

काठमाडौं । मनसुन सुरु भएसँगै तपाईंले याद गर्नुभएको होला, प्रायः दिउँसो मौसम खुले पनि रात परेपछि मुसलधारे पानी पर्छ । यो केवल तपाईंको अनुभव मात्र होइन, मनसुनको एउटा मुख्य विशेषता नै हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पनि मनसुनमा दिउँसोभन्दा राति नै बढी वर्षा हुने गर्छ । आजको मौसम पूर्वानुमानले पनि यही प्रवृत्तिलाई पुष्टि गर्छ । विभागका अनुसार, आज दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने कोसी र वाग्मती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्छ । तर, राति यो क्रम बढ्नेछ । राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुँदा केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ ।

आखिर किन हुन्छ त यस्तो ?
किन मनसुनमा दिउँसोभन्दा रातमा बढी पानी पर्छ ? यो प्रश्नमा मौसमविद् डेविड ढकालका अनुसार, यो मनसुन प्रणालीको स्वाभाविक चरित्र हो । ‘मनसुनको समयमा अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गर्छ,’ ढकाल भन्छन्, ‘दिनभरि पृथ्वीको सतह तात्ने र अपराह्नपछि ‘लो प्रेसर सिस्टम’ (न्यून चापीय प्रणाली) बन्न सुरु हुन्छ ।’

यही न्यून चापीय प्रणालीले जलवाष्पयुक्त हावालाई अझ बढी तान्छ । दिनभरि तातेको वायुमण्डल र जमिन साँझ परेपछि चिसिन थाल्छ । यही चिसोपनाले जलवाष्पलाई सजिलै पानीका थोपामा परिणत गराउँछ, जसकारण राति मुसलधारे वर्षा हुन्छ । ‘बेलुकाको समयमा चिसो हुने जलवाष्प राति पानीमा परिणत हुने भएकाले नै यस्तो भएको हो,’ उनी प्रस्ट पार्छन् ।

मौसम विज्ञान विभागले वर्षाको मात्रालाई वर्गीकरण गरेको छ । सामान्यतया २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्मको वर्षालाई ‘भारी वर्षा’ र १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई ‘धेरै भारी वर्षा’ भनिन्छ । आज राति केही स्थानमा यस्तै धेरै भारी वर्षाको सम्भावना औंल्याइएको छ । मनसुन अवधिभर दिउँसो मौसम सफा देखिए पनि रात्रिकालीन समयमा भारी वर्षा हुनसक्ने भएकाले विशेषगरी पहाडी तथा तटीय क्षेत्रमा बसोबास गर्नेहरूले सतर्कता अपनाउनु आवश्यक देखिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री