गठबन्धन ८४ सम्मै टिक्छ, म समयअगावै सत्ता छाड्छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेससँग भएको सहमतिभन्दा अगाडि नै प्रधानमन्त्री पद हस्तान्तरण गर्न आफू तयार रहेको बताउँदै राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु गराएका छन् । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बुधबार म्याड्रिडमा आयोजित एक कार्यक्रममा यस्तो महत्वपूर्ण घोषणा गरेका हुन् ।

म्याड्रिडस्थित नेपाली राजदूतको निवासमा प्रवासी नेपाली मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सत्ता समीकरणलाई लिएर कुनै पनि किसिमको शङ्का नगर्न आग्रह गरे । उनले भने, ‘मैले दुई वर्ष सरकारको नेतृत्व गर्ने कुरा हो । तर, त्यो अवधि सकिएपछि मात्र सत्ता हस्तान्तरण गर्नुपर्छ भन्ने छैन । बरु १०-१५ दिन अगावै देउवाजीलाई पद सुम्पिन्छु ।’

प्रधानमन्त्री ओलीले नेकपा एमाले र नेपाली कांग्रेसबीचको गठबन्धन आगामी ०८४ सालको निर्वाचनसम्मै कायम रहने दृढतासमेत व्यक्त गरे । सोही कार्यक्रममा उनले युरोपमा स्थायी तथा अस्थायी रूपमा बसोबास गरिरहेका नेपालीहरूलाई शुभकामना दिँदै उनीहरूको समृद्धिको कामना गरे । उनले युरोपमा कठिनाइ भोगिरहेका युवाहरूलाई स्वदेश फर्केर आधुनिक कृषिमा भविष्य खोज्न पनि आह्वान गरे ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन पुगेका हुन् । भ्रमणका क्रममा उनले स्पेनका लागि नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य सङ्घद्वारा आयोजित कार्यक्रममा पनि सहभागिता जनाएका थिए । भ्रमणले नेपालको विकास र लगानीका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री