अन्ततः अदालतमा हाजिर भए पत्रकार दिलभूषण पाठक, बयानलगत्तै थुनछेक बहस

काठमाडौं । पत्रकार दिलभूषण पाठक विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा बयानका लागि आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाका पुत्र जयवीर देउवाको चरित्रहत्या गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको हो ।

अदालत स्रोतका अनुसार, पाठकको बयान सकिएलगत्तै थुनछेक बहस प्रारम्भ हुनेछ । बहसले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने, धरौटीमा छाड्ने वा साधारण तारेखमा रिहा गर्ने भन्नेबारे निर्णय गर्नेछ ।

गत असार १६ गते नेपाल प्रहरीको साइबर ब्यूरोले दर्ता गरेको जाहेरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले पाठकविरुद्ध मुद्दा अघि बढाएको हो । अभियोगपत्रमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम विद्युतीय स्वरूपमा गैरकानुनी सामग्री प्रकाशन गरी अपमान र चरित्रहत्या गरेको कसुरमा एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजायको मागदाबी गरिएको छ ।

के थियो आरोप ?
जाहेरवालाले आफ्नो तस्बिरसहित प्रकाशित सामग्रीले आफ्नो मानमर्दन गरेको भन्दै उजुरी दिएका थिए । पाठकद्वारा सञ्चालित एक प्लेटफर्ममा ‘हिल्टनमा जयवीर देउवाको पैसा’ शीर्षकमा प्रकाशित सामग्रीमा भनिएको थियो, ‘काठमाडौँस्थित पाँचतारे हिल्टन होटलमा शाहिल अग्रवाल र दीपक भट्टको लगानी रहेको छ । निज दीपक भट्टमार्फत जयवीर देउवा हिल्टन होटलमा जोडिएका छन्, उक्त बिजनेस क्यानडासम्म फैलिएको बताइन्छ ।’

यो सामग्रीले समाजमा आफूप्रति घृणा, द्वेष र भ्रम फैलाएर चरित्रहत्या गरेको जाहेरवालाको दाबी छ । सरकारी वकिलको कार्यालयले अभियोगपत्रमा उक्त सामग्री प्रकाशन तथा प्रसारण गर्न प्रयोग भएका कम्प्युटर, ल्यापटप, सफ्टवेयर वा अन्य सञ्चार उपकरण जफत गर्न पनि माग गरेको छ । साथै, उक्त सामग्रीबाट पीडितलाई पर्न गएको असरका लागि उचित क्षतिपूर्ति भराउन पनि मागदाबी लिइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री