गभर्नर पौडेलको शेयर मात्रै १४ करोडको : ४५ तोला सुन, अरु सम्पत्ति कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्व पौडेलले आफ्नो सम्पत्ति विवरण राष्ट्र बैंकमा बुझाएका छन्, जसमा घर, जमिन, सुन, शेयर र नगद बैंक मौज्दातसमेत उल्लेख गरिएको छ।

उनले दिएका विवरणअनुसार ललितपुरको भैँसेपाटीमा ५ आना २ दाम क्षेत्रफलको र नवलपुरको गैँडाकोटमा दुई कित्ता मिलाएर ६ आना १ दाम क्षेत्रफलको घर छ, जुन दुवै श्रीमती प्रतिभा शर्माको नाममा छन्। साथै, सैंबुमा १ करोड ५५ लाख रुपैयाँ मूल्यको र गैँडाकोटमा ६० लाख रुपैयाँको जग्गा रहेको उल्लेख छ। यी सम्पत्तिहरू पैतृक र स्वआर्जन स्रोतबाट प्राप्त भएको उनले बताएका छन्।

गहना तर्फ, करिब ४५ तोला सुन भएकाे विवरण पनि उल्लेख छ।

शेयर लगानीको बिस्तृत विवरण

डा. पौडेलको नाममा रहेका प्रमुख शेयर लगानी यस्ता छन्:

  • सानिमा बैंक – २ करोड ४४ लाख १६ हजार ६०० बराबरका २ लाख ४४ हजार १७६ कित्ता प्रवर्द्धक शेयर

  • सानिमा माइ हाइड्रोपावर – ९२ लाख ५७ हजार ९०० बराबरका ९२ हजार ५७९ कित्ता

  • सानिमा मिडल तमोर हाइड्रोपावर – १ करोड ८८ लाख बराबरका १ लाख ८८ हजार कित्ता

  • ग्लोबेको प्रा.लि. – ९३ लाख ४१ हजार ७०० बराबरका १ लाख ८६ हजार ८३४ कित्ता

  • संयुक्त ऊर्जा हाइड्रोपावर – ५ करोड बराबरका ५ लाख कित्ता

  • चितवन इनर्जी – २ करोड ५० लाख बराबरका २ लाख ५० हजार कित्ता

श्रीमती प्रतिभा शर्माको नाममा ग्लोबेको प्रा.लि.मा ३७ लाख ५० हजार बराबरका ७५ हजार कित्ता शेयर रहेको पनि उल्लेख गरिएको छ। साथै, अन्य केही कम्पनीहरूमा पनि शेयर रहेको विवरणमा उल्लेख छ।

बैंक मौज्दात र सवारी साधन

गभर्नर पौडेलका विभिन्न बैंक खाताहरूमा रहेको रकम यथातथ्य यस प्रकार छ:

  • सानिमा बैंक – १३ लाख २३ हजार १९२ रुपैयाँ

  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंक – २ लाख ५९ हजार ३४४ रुपैयाँ

  • प्रभु बैंक – ४ लाख ७३ हजार ८२२ रुपैयाँ

  • सानिमा बैंक (डलर खाता) – ६६.७८ अमेरिकी डलर

  • श्रीमतीको नाममा (सानिमा बैंक डलर खाता) – ४४४६ अमेरिकी डलर

  • सानिमा बैंकमा श्रीमतीको खाता – १२ हजार ५४७ रुपैयाँ

बैंक खातामा रहेको सम्पूर्ण रकम स्वआर्जन भनिएको छ। श्रीमती शर्माको नाममा सुजुकी कम्पनीको एउटा कार रहेको छ, जसको खरिद मूल्य ४४ लाख रुपैयाँ बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप