-
तयारी हालतमा सेनाका हेलिकप्टर, प्रदेशलाई गोदाम घर हस्तान्तरण
काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद्को समयमा सूचना नै सबैभन्दा ठूलो शक्ति हुने बताउँदै यसको व्यवस्थापनमा पत्रकारहरूको भूमिका अग्रपङ्क्तिमा रहने कुरामा जोड दिएका छन् । उनले मनसुनजन्य विपद् प्रतिकार्यका लागि काठमाडौं, पोखरा र सुर्खेतमा नेपाली सेनाका हेलिकप्टरहरू तयारी अवस्थामा राखिएको जानकारीसमेत दिएका छन् ।
मंगलबार काठमाडौंमा सञ्चार मन्त्रालयको सहकार्यमा विपद् पत्रकारिता सञ्जालले आयोजना गरेको ‘विपद् व्यवस्थापनमा पत्रकारको भूमिका’ विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले भने, “विपद् व्यवस्थापनमा सबैभन्दा महत्त्वपूर्ण पक्ष सूचना हो र सूचनासँग पत्रकारहरू प्रत्यक्ष जोडिनुभएको छ । त्यसकारण जोखिम न्यूनीकरणदेखि प्रतिकार्यसम्म पत्रकारहरू नै अग्र स्थानमा हुनुहुन्छ ।” उनले पछिल्लो समय नेपाली पत्रकारिता जगत थप व्यावसायिक र परिपक्व बन्दै गएकोमा प्रशंसासमेत गरे ।
विपद् प्रतिकार्यका लागि सरकारी तयारी तीव्र
मनसुन सुरु भइसकेको अवस्थामा सरकारले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि तयारी तीव्र पारेको गृहमन्त्री लेखकले बताए । उनका अनुसार, मुलुकका तीन प्रमुख स्थानमा सेनाका हेलिकप्टरहरू तयारी हालतमा राखिएको छ र आवश्यकताअनुसार अन्य स्थानमा पनि विस्तार गर्ने योजना छ । “हामीले निजी क्षेत्रको हेलिकप्टर एसोसिएसनसँग पनि समन्वय गरेका छौँ ताकि आवश्यक पर्दा तत्काल परिचालन गर्न सकियोस्,” उनले भने, “सीमित स्रोतसाधनका बाबजुद सरकार प्रतिकार्यका लागि प्रतिबद्ध छ ।”
गृहमन्त्री लेखकले विपद् प्रतिकार्य र व्यवस्थापनलाई संघीयताको मर्मअनुरूप विकेन्द्रित गरिएको जानकारी दिए । काठमाडौंको केन्द्रीय गोदामबाहेक सातै प्रदेशमा रहेका आपत्कालीन गोदाम घरहरू प्रदेश सरकारलाई हस्तान्तरण गरिएको उनले खुलासा गरे । साथै, जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई आवश्यक रकम पठाइसकिएको र राहत सामग्री तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ ।
सुरक्षा निकायदेखि स्थानीय तहसम्मलाई निर्देशन
विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको छ । गृहमन्त्री लेखकले दुवै सुरक्षा संगठनका प्रमुखहरूसँग तयारीबारे जानकारी लिई देशभरका युनिटहरूलाई तयारी अवस्थामा राख्न भनिएको बताए । उनले विपद्को सामना कुनै एक निकायले मात्र गर्न नसक्ने भन्दै प्रदेश सरकार, स्थानीय तह, गैरसरकारी संस्था, निजी क्षेत्र र यातायात व्यवसायीलगायत सबै पक्षबीच हातेमालो र समन्वय अपरिहार्य रहेकोमा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाललगायतले विपद्को समयमा सत्यतथ्य र जिम्मेवार पत्रकारिताको महत्त्वबारे आफ्नो धारणा राखेका थिए ।




