काठमाडौं । सरकारले विगतमा गरेका सहमति कार्यान्वयनमा चरम उदासीनता देखाएको भन्दै नेपाल शिक्षक महासंघका पदाधिकारीहरू प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गुहार्न पुगेका छन् ।
सोमबार बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको भेटमा महासंघका प्रतिनिधिमण्डलले आफ्ना माग पूरा गराउन सशक्त प्रतिपक्षीको भूमिकाको अपेक्षा राखेको थियो । जवाफमा अध्यक्ष प्रचण्डले सरकारलाई अब कुनै बहानाबाजी गर्ने ठाउँ नरहेको स्पष्ट पार्दै शिक्षकका माग तत्काल सम्बोधन गर्न आफ्नो दलले पूर्ण दबाब दिने आश्वासन दिएका छन् ।
भेटका क्रममा महासंघका पदाधिकारीहरूले शिक्षाजस्तो संवेदनशील क्षेत्र राजनीतिक अस्थिरताको चपेटामा परेको र शिक्षकसँग भएका सम्झौताहरू केवल कागजमा सीमित भएकोमा आक्रोश व्यक्त गरेका थिए । ‘सरकारले हाम्रा माग र विगतका सहमति कार्यान्वयनमा कुनै चासो देखाएन,’ महासंघका एक पदाधिकारीले भने, ‘त्यसैले हामी प्रतिपक्षी दलको बलियो साथ खोज्दै यहाँ आएका हौँ ।’
शिक्षकहरूका गुनासा सुनेपछि अध्यक्ष प्रचण्डले शिक्षकका माग सम्बोधन गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए । उनले हालै आफ्नो दलले संसद्को अवरोध हटाउने निर्णय लिनुको एउटा प्रमुख कारण शिक्षकका मुद्दा पनि रहेको खुलासा गरे । ‘सरकारले सदन अवरोधलाई बहाना बनाएर शिक्षकका माग पूरा नगर्ने अवस्था नबनोस् भनेर नै हामीले सदन खोल्ने निर्णय गरेका हौँ,’ प्रचण्डले भने, ‘अब सरकारसँग कुनै बहाना बाँकी छैन, शिक्षकका जायज मागहरू बिनासर्त तुरुन्त पूरा हुनुपर्छ ।’
अध्यक्ष प्रचण्डले शिक्षक पेसा राष्ट्रको भविष्यसँग जोडिएको सम्मानित पेसा भएकाले यसको मर्यादा कायम राख्न सरकार जिम्मेवार हुनुपर्ने बताए । उनले प्रारम्भिक बाल विकास (ईसीडी) का शिक्षकहरूका समस्या समाधान गर्दै बाल विकास कक्षालाई विद्यालयको मूल संरचनामा नै समाहित गर्नुपर्ने आवश्यकतासमेत औँल्याए । ‘यी मागहरू पूरा गराउन हामी आफ्नो तर्फबाट पूर्ण रूपमा लाग्नेछौँ,’ उनले भने ।




