काठमाडौं । दैलेखमा पत्ता लागेको प्राकृतिक मिथेन ग्याँसको परीक्षण उत्पादन तत्काल सुरु गरी एक वर्षभित्रै उपयोगमा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खानी विभागका अधिकारी तथा चिनियाँ प्राविधिक टोलीको प्रारम्भिक प्रतिवेदनबारे जानकारी लिँदै प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन् । उनले यसका लागि आवश्यक बजेट तथा कानुनी सहजीकरणमा सरकारबाट कुनै कमी नहुने प्रतिबद्धता समेत जनाए ।
दैलेखमा ११२ अर्ब घनमिटर मिथेन ग्याँस
चीन सरकारको सहयोगमा दैलेखको भैरवी गाउँपालिका–८ जलजलेमा गरिएको ड्रिलिङबाट ११२.१ अर्ब घनमिटर मिथेन ग्याँसको भण्डार भेटिएको प्रारम्भिक प्रतिवेदन चाइना जियोलोजिकल सर्भेले दिएको छ । उद्योग मन्त्री दामोदर भण्डारीका अनुसार, यो ग्याँस नेपाललाई ५० वर्षसम्म पुग्ने अनुमान गरिएको छ । अन्य क्षेत्रहरूमा समेत ग्याँस भण्डारको सम्भावना रहेको अधिकारीहरूले बताएका छन् ।
नवलपरासीमा फलाम खानी: १०० वर्ष पुग्ने स्रोत
छलफलमा पूर्वी नवलपरासीको धौबादी फलाम खानीसम्बन्धी प्रगति प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो । धौबादी फलाम कम्पनी लिमिटेडका अनुसार, करिब ९९ मिलियन टन फलामको भण्डार रहेको छ, जसले १०० वर्षसम्म स्टिल उत्पादन गर्न सकिने क्षमता राख्छ ।
कम्पनीले नियमित प्रक्रिया पूरा गर्दै वि.सं. २०८५ भित्रै स्टिल उत्पादन सुरु गर्ने योजना प्रस्तुत गरेपछि प्रधानमन्त्री ओलीले सोभन्दा पहिले नै उत्पादन सुरु गर्न आवश्यक तयारी मिलाउन निर्देशन दिएका छन् । सरकार स्रोत, साधन र कानुनी व्यवस्थापनमा पूर्ण सहयोग गर्ने उनको भनाइ थियो । छलफलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु प्रसाद रिमाल, उद्योग मन्त्री दामोदर भण्डारी, दैलेखका सांसदहरू लगायतका अधिकारीहरूको उपस्थिति थियो ।




