नेपाल लाइफ इन्स्योरेन्स बन्यो महानगरको ‘सीप मेला’को संस्थागत साझेदार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं महानगरपालिकाद्वारा आयोजित ‘काठमाडौं महानगर सीप मेला २०८२’ मा संस्थागत साझेदारी गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेलामा सहभागिता जनाएको हो।

महानगरपालिकाले सञ्चालनमा ल्याएको ‘सीप मेला २०८२’ को मुख्य उद्देश्य सीप नभएकाहरूलाई सीप सिकाउने र आधारभूत सीप भएकाहरूलाई थप दक्ष बनाउने हो।

मेलामा रोजगारी र आय वृद्धिको माध्यमबाट काठमाडौँको समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ। मेलाअन्तर्गत १० विधामा ३७ पेशासँग सम्बन्धित तालिमहरू पूर्ण रूपमा निःशुल्क प्रदान गरिँदै छन्।

काठमाडौं महानगरपालिकाको यस अभियानमा सहभागी हुन पाउदा खुसी लागेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए।

उनले भने, ‘जब ‘सीप मेला २०८२’ को प्रस्ताव नेपाल लाइफमा आयो, हामीले यसलाई अवसरमात्र नभई युवालाई सशक्त बनाउन र स्वरोजगारको बाटो देखाउन सकिने महत्वपूर्ण अभियानका रूपमा लियौँ। यो मेलाले ३० भन्दा बढी विभिन्न तालिमहरूमार्फत युवा जनशक्तिको माग र आपूर्तिको सन्तुलन कायम गर्न सहयोग पुर्‍याउनेछ।’

उनले यो प्रस्तावलाई संस्थागत साझेदारको रूपमा स्वीकार गरेको बताउँदै यसले युवालाई मार्गदर्शन, सीप र सुरक्षा दिने मात्र नभई उनीहरूको भविष्य निर्माण गर्ने सम्भावनाको ढोका खोल्ने बताए।

उनले भने, ‘सीप मेला केवल एउटा कार्यक्रम होइन, सामाजिक परिवर्तनको अभियान हो। जहाँ युवाहरूको आत्मनिर्भरता र देशको समृद्धिको सम्भावना समेटिएको छ। हामी गर्व गर्छौं जब युवाहरू सक्षम बन्छन्, जब उनीहरूले रोजगारी सिर्जना गर्छन्।’

सीप मेलामा नेपालभरिका युवाहरू सहभागी छन्। कोही पहिलोपटक अवसर खोज्दै, कोही जीवनलाई नयाँ दिशा दिँदै छन्। मेलाले उनीहरूलाई चाहिएको सीप, अवसर, हौसला र संरचना प्रदान गर्न केन्द्रित छ।

काठमाडौं महानगरपालिकाका प्रतिनिधि देवेन्द्र केसीका अनुसार रोजगार र आयवृद्धि, काठमाडौँको समृद्धि भन्ने नाराका साथ मेलाले तीन वर्षे योजना अन्तर्गत कार्य गरिरहेको छ। जुन राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्दछ। मेलामा निजी क्षेत्रसँगको सहकार्य उल्लेखनीय रहेकोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहभागिता विशेष प्रशंसनीय भएको उनले बताए।

सीप मेला विशेष गरी काठमाडौं महानगर क्षेत्रमा बसोबास गरिरहेका स्थायी वा अस्थायी बासिन्दा, करदाताहरू, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, बेरोजगार युवा (महिला–पुरुष), विदेशबाट फर्किएर काम खोज्दै गरेका व्यक्तिहरूलाई लक्षित गरेर सञ्चालन गरिएको हो।

तालिमहरू हरेक दिन तीन सिफ्टमा सञ्चालन हुँदै आइरहेका छन्। बिहान ७ बजे सुरु भएको तालिम ११ बजे सकिन्छ। ११ बजे सुरु भएको तालिम ३ बजे सकिन्छ । ३ बजे सुरु भएको तालिम साँझ ७ बजे सकिन्छ । एउटा कक्षामा २५ जनालाई राखिएको छ।

सीप मेलामा एक सहभागीले भने, “म यो तालिममा सहभागी हुन पाउँदा निकै खुसी छु। मलाई विश्वास छ, यसले मलाई रोजगारको अवसर दिन्छ र मेरो भविष्य अझ राम्रो बनाउँछ।”

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री