काठमाडौं । इजरायल र इरानबीच चर्किएको युद्धको प्रभाव नेपालसम्म पनि देखिएको छ । ‘केयर गिभर’को रूपमा इजरायल जान तयार भएका ३५ नेपालीको यात्रा अन्तिम समयमा रोकिएको छ ।
वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीका अनुसार ती श्रमिकहरू जेठ ७ गतेको उडानमार्फत इजरायल जान लागेका थिए । ‘उहाँहरू भिसादेखि टिकटसम्म सबै प्रक्रिया पूरा गरेर जानुअघि, इजरायलबाट तत्काल नपठाउन भनी पत्र आएकोले उनीहरूलाई रोकिएको हो,’ उनले भने ।
इजरायलले हालको संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै नेपाली श्रमिकहरूलाई अर्को सूचना जारी नहुँदासम्म नपठाउन अनुरोध गरेको छ । युद्धको अवस्था सामान्य भएपछि मात्र उडान नियमित हुनेछ र रोकिएका नेपालीले इजरायल जान पाउनेछन् ।
गत बिहीबार इजरायलले इरानमाथि आकस्मिक हवाई आक्रमण गरेपछि स्थिति तनावपूर्ण बनेको हो । अन्तर्राष्ट्रिय समाचारहरूका अनुसार, हालसम्म युद्धका कारण २४० इरानीको मृत्यु भइसकेको छ, जसमध्ये ७० जना महिला र बालबालिका रहेका छन् ।
इरानको जवाफी आक्रमणमा परी २४ जना इजरायलीको ज्यान गएको बताइएको छ । इजरायलमा अहिले झन्डै ५ हजार ५०० नेपाली कामदार तथा विद्यार्थी छन् । युद्धको माहोल तीव्र बन्दै जाँदा त्यहाँ रहेका नेपाली चिन्तित छन् र कयौंले तेल अभिभस्थित नेपाली दूतावासमा सम्पर्क गरी स्वदेश फर्काउने पहल गर्न अनुरोध गरिरहेका छन् ।




