गैरकानुनी सम्पत्ति आर्जन प्रकरण : यातायात अधिकृत गौतमविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । गैरकानुनी रूपमा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा पर्सा स्थित सवारी चालक अनुमतिपत्र कार्यालयका अधिकृत कमलराज गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार गौतमले आफ्ना आम्दानीका वैध स्रोतभन्दा झन्डै २ करोड ५१ लाख ७८ हजार ६८७ बढी सम्पत्ति आर्जन गरेका छन्, जसको कुनै प्रमाणित स्रोत छैन । सार्वजनिक सेवामा रहँदाको उनको आय र खर्चको विस्तृत विश्लेषणपछि यस्तो निष्कर्ष निकालिएको हो ।

अख्तियारले २०५५ साल वैशाख ७ गतेदेखि २०७९ साल चैत २४ सम्मको उनको सम्पत्ति विवरण परीक्षण गरेको थियो । सो अवधिमा गौतमले आफ्ना पारिश्रमिक, भत्ता, पत्नीको आम्दानी, घरजग्गा तथा सवारी साधन बिक्री, शेयर कारोबार, कृषि र भाडाबाट आएको आय आदिबाट २ करोड ८९ लाख २० हजार बराबरको वैध आय देखिएको छ ।

तर, सोही अवधिमा उनले५ करोड ४० लाख ९८ हजार ९५५ बराबरको खर्च र लगानी गरेका थिए, जसमा घरजग्गा खरिद, निर्माण, बीमा, अध्ययन खर्च, ऋण भुक्तानी, सुन खरिद र बैंक मौज्दातजस्ता विभिन्न शीर्षकहरू पर्दछन् । आयभन्दा खर्च अत्यधिक देखिएपछि अख्तियारले सो फरक रकमलाई गैरकानुनी सम्पत्ति मानेर मुद्दा अघि बढाएको हो ।

उनले राष्ट्रसेवक पदमा रहँदा हरेक वर्ष पेश गर्नुपर्ने सम्पत्ति विवरणमा वास्तविक विवरण नदिई झुठा विवरण पेश गरेको आरोप पनि अख्तियारले लगाएको छ । गौतमले आर्जन गरेको गैरकानुनी सम्पत्तिको केही अंश पत्नी सरला नेपालको नाममा राखिएको भेटिएकाले उनीमाथि पनि बिगो जफतका लागि प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री