-
पुस्तकमा हिंसापीडित महिला र ज्येष्ठ नागरिकका सवालमा गरिएका कामलाई प्राथमिकता
काठमाडौँ । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले आफ्नो कार्यकालको पछिल्लो दुई वर्षमा सम्पादन गरेका कार्यहरूको विस्तृत विवरण समेटिएको कार्यप्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको छ । एक विशेष समारोहमा उहाँको दोस्रो दुई-वर्षे कार्यकाल (वि.सं. २०७९ माघ २१ देखि २०८१ माघ २० सम्म) को प्रगति विवरण पुस्तकका रूपमा विमोचन गरिएको हो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा राजनीति, मानव अधिकार तथा विभिन्न संवैधानिक आयोगका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
विमोचित पुस्तकमा सदस्य खतिवडाको नेतृत्वमा महिला हिंसाविरुद्ध चालिएका कदम, हिंसापीडित तथा ज्येष्ठ नागरिकका सवालमा गरिएका पहल, र उनीहरूलाई न्याय दिलाउन गरिएका प्रयासहरूलाई विस्तृत रूपमा समेटिएको छ । साथै, स्वदेश तथा विदेशमा महिला अधिकारका क्षेत्रमा गरिएका कार्य, पहिचान भएका समस्या र तिनका समाधानका लागि सुझाइएका उपायहरूलाई समेत प्रतिवेदनमा सङ्कलित गरिएको छ । यो उहाँको चार वर्षे कार्यकालको दोस्रो कार्यप्रगति विवरण हो, यसअघि उहाँले पहिलो दुई वर्षको प्रगति पनि पुस्तकका रूपमा सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अर्जुननरसिंह केसीले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न तथा लैङ्गिक समानता सुनिश्चित गर्न संवैधानिक आयोगहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले सदस्य खतिवडाको पारदर्शिता र जवाफदेहिताको प्रशंसा गर्दै यस्ता कार्यप्रगतिले आम नागरिकमा आयोगप्रतिको विश्वास बढाउने धारणा राख्नुभयो ।
समारोहमा नेपाली कांग्रेसकी सचेतक शुशीला थिङ, राष्ट्रियसभा सदस्यहरू विष्णु कुमारी सापकोटा र विष्णुदेवी पुडासैनी, प्रदेशसभा सदस्य मैयाँ लावती, मानव अधिकार आयोगकी सदस्य लिली थापा, दलित आयोगकी सदस्य मिनादेवी सोप, समावेशी आयोगका प्रवक्ता पुष्पराज तिमिल्सिना लगायत विभिन्न आयोगका प्रतिनिधि, उच्च पदस्थ सरकारी कर्मचारी, सुरक्षा निकायका अधिकारी तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति थियो ।
कार्यक्रमका वक्ताहरूले महिलाका विद्यमान चुनौती, लैङ्गिक हिंसाका बदलिँदा स्वरूप र समावेशी विकासका आयामहरूमाथि तार्किक विचार प्रस्तुत गरेका थिए । उनीहरूले महिला अधिकार सुनिश्चित गर्न कानुनको प्रभावकारी कार्यान्वयन र सामाजिक चेतना अभिवृद्धिमा जोड दिए । यो कार्यप्रगति विवरणले आयोगको सदस्यको रूपमा खतिवडाको सक्रियता र पारदर्शितालाई मात्र नभई महिला अधिकारका क्षेत्रमा गरिनुपर्ने थप कार्यदिशासमेत प्रस्तुत गरेको सहभागीहरूको बुझाइ थियो ।




