काठमाडौं । गृहमन्त्री रमेश लेखकले आगामी आर्थिक वर्षको बजेटमा नेपाल प्रहरीका लागि उल्लेख्य रूपमा बजेट वृद्धि भएको बताएका छन् । उनले अबदेखि प्रहरीले तलब, रासन र पोसाक जस्ता आधारभूत आवश्यकताका लागि वर्षको बीचमा स्रोतको अभाव झेल्नु नपर्ने प्रतिबद्धता व्यक्त गरे ।
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले विगतमा जस्तो ८-९ महिनापछि बजेट अभावमा अर्थ र गृह मन्त्रालयबीच तनाव हुने अवस्थाको अन्त्य भएको दाबी गरे ।
‘यसपालि तुलनात्मक रूपमा सुखद् कुरा के छ भने आगामी वर्षको बजेटमा नेपाल प्रहरीतर्फ बजेटको उल्लेख्य वृद्धि भएको छ,’ गृहमन्त्री लेखकले भने, ‘विगतमा ९ महिनापछि तलब, पोसाक र रासनमा देखिने जटिलता अब हट्नेछ । हामीले वर्षभरका लागि एकमुष्ट बजेट विनियोजन गरेका छौं, त्यसमा अब कुनै तनाव हुनेवाला छैन ।’
उनले बजेट वृद्धिले प्रहरी संगठनको मनोबल उच्च हुने र त्यसको सकारात्मक प्रभाव कार्यसम्पादनमा देखिनुपर्नेमा जोड दिए । ‘अब स्रोत, साधनको अभाव भयो भन्ने गुनासो सुनिने छैन, त्यसअनुरूपको नतिजा पनि देखिनुपर्छ,’ उनले भने ।
गृहमन्त्री लेखकले अनुसन्धानलाई स्वस्थ, स्वच्छ र भरपर्दो बनाउन प्रविधिको अधिकतम प्रयोग गर्न र शान्ति सुरक्षा कायम गर्न आवश्यक सामग्रीको अभाव हुन नदिने आश्वासन दिए ।



