काठमाडौँ । शंकरापुर नगरपालिका-५ पालुवारीबाट चोरिएको मोटरसाइकलसहित एक युवकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने व्यक्ति सिन्धुपाल्चोक बलेफी गाउँपालिका-३ धुसकोटका २२ वर्षीय संजय तामाङ रहेका छन्, उनी काठमाडौंको काँडाघारीमा बस्दै आएका थिए । तामाङले वास्तविक नम्बर बागमती प्रदेश ०२-०५१ प २११९ रहेको मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी बागमती प्रदेश ०२-०४९ प २८९६ राखी चलाइरहेको अवस्थामा ट्राफिक प्रहरीको नजरमा परेका हुन् ।
मोटरसाइकल दाङ निवासी मिलन नेपालीको नाममा दर्ता रहेको र केही दिनअघि काठमाडौंको बालाजु क्षेत्रबाट हराएको भन्दै उनले उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । घटनापछि नियन्त्रणमा लिइएका तामाङलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बालाजुमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् ।
प्रवक्ता गिरीका अनुसार सवारी चोरी नियन्त्रण तथा खोजतलास कार्य निरन्तर चलिरहेको भए पनि सवारीधनी स्वयंले पनि सावधानी अपनाउन आवश्यक छ । उनले सवारीसाधन सुरक्षित स्थानमा पार्क गर्न, ह्वील लक, चेन लक, ह्यान्डल लक, डिस्क लक, तथा सुरक्षा साइरन जडान गर्न सुझाव दिएका छन् ।
एकान्त र निगरानी नभएका स्थानमा सवारी पार्क नगर्नसमेत उनले आग्रह गरे । यदि सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन १०३ वा नेपाल प्रहरीको १०० नम्बरमा सम्पर्क गर्न वा नजिकको प्रहरी कार्यालयमा तत्काल जानकारी गराउन पनि उनले सबैमा अनुरोध गरेका छन् ।




