काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामाको मागसँगै जारी प्रतिपक्षको अवरोधका कारण प्रतिनिधि सभाको आजको बैठक फेरि सञ्चालन हुन सकेन । सभामुख देवराज घिमिरेले अवस्था नियन्त्रण बाहिर जाँदै गएको भन्दै बैठक भोलि बिहीबारसम्मका लागि स्थगित गरे ।
बैठक सुरु भएको घोषणा लगत्तै प्रतिपक्षी दलका सांसदहरू उठेर आ-आफ्नो स्थानबाट नाराबाजीमा उत्रिएका थिए । गृहमन्त्री लेखकको राजीनामा माग्दै उनीहरूले संसदीय कार्यतालिका अवरुद्ध गरे । अर्कोतर्फ, सत्तापक्षका सांसदहरूले संसद निरन्तर अवरुद्ध हुँदा बोल्न पाउने अधिकारसमेत खोसिएको भन्दै आपत्ति जनाए र बैठक सञ्चालनको माग राखे ।
सभामुख घिमिरेले सबैलाई संयमता अपनाउन र दलीय प्रतिनिधित्वअनुसार बोल्ने समय दिने प्रस्ताव राखे पनि विपक्षी सांसदहरू आफ्नो अडानमा कायम रहे । अन्ततः कार्यसूची अघि बढ्न नसक्ने अवस्था आएपछि सभामुखले बैठक स्थगनको घोषणा गरे ।




