काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले प्रतिनिधि सभाको अवरुद्ध बैठक चाँडै सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन्। बुधबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद् खुलाउने प्रयास अन्तिम चरणमा पुगेको जनाए।
भिजिट भिसा प्रकरणका कारण प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गरिरहेका छन्। उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन चल्न दिएका छैनन्। तर मन्त्री गुरुङले भने यो माग उचित नभएको जिकिर गरे। उनका अनुसार अख्तियारले एउटा कर्मचारीविरुद्ध अनुसन्धान सुरु गरेको र यस्तो अनुसन्धानका आधारमा गृहमन्त्रीको राजीनामा माग्नु तर्कसंगत होइन।
“एउटा कर्मचारीमाथि अनुसन्धान थालिएपछि तुरुन्तै मन्त्रीले पदत्याग गर्नुपर्ने हो भने सरकार सञ्चालन गर्नै सकिँदैन,” गुरुङले भने। उनले सत्ता र विपक्षबीच संवाद जारी रहेको र संसद् खुलाउने प्रयास सकारात्मक दिशामा अघि बढेको बताए।
“संसद् सञ्चालनका लागि सत्तापक्ष र प्रतिपक्षबीच लामो छलफल भइरहेको छ। सम्भवतः आज वा भोलिसम्म संसद् पुनः सञ्चालनमा आउन सक्छ,” उनले आशा व्यक्त गरे। साथै, गृहमन्त्रीको राजीनामा अब पुनः छलफलको विषय नबन्ने पनि उनले प्रस्ट पारे।
मन्त्री गुरुङका अनुसार अहिलेको प्राथमिकता बजेटसँग सम्बन्धित विषयमा छलफल अघि बढाउनु हो। उनले राजनीति साना–साना विषय उठाएर अवरोध गर्ने संस्कारले अगाडि नबढ्ने स्पष्ट पारे।
“संसद् चलाउनका लागि प्रतिपक्षले सहयोग गर्नुपर्छ। उठेका विषयबारे संसद्मै धारणा राखेर अघि बढ्नु राजनीतिक जिम्मेवारी हो,” गुरुङले भने।




