काठमाडौं । पारिवारिक विवादमा पूर्वमन्त्रीले एक महिलाको अस्मितामाथि नै प्रश्न उठाएको घटना सार्वजनिक भएको छ । पूर्व भूमिसुधार मन्त्री तथा राप्रपा नेता रामकुमार सुब्बाविरुद्ध महिलाको गोप्य अङ्गको खानतलासी गर्न लगाएर अपमानजनक व्यवहार गरेको आरोपमा मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।
पीडित महिलाले दिएको जाहेरीअनुसार, श्रीमान् र परिवारको यातनापछि अंश मुद्दा दायर गरेर माइतीमा बस्दै आएकी उनीमाथि गत चैत २२ गते यो घटना भएको थियो । पूर्वमन्त्री सुब्बा, पीडितका ससुरा गोपाल शाह र सुनिता घिमिरे नामकी अर्की महिलासहित उनको माइतीघर, मोरङको डायनियामै पुगेर दुर्व्यवहार गरेको अभियोग पत्रमा उल्लेख छ ।
सुब्बाले आफू इटहरीको ठूलो नेता र पूर्वमन्त्री भएको धाक लगाउँदै अंश मुद्दा फिर्ता लिन दबाब दिएका थिए । विवादकै क्रममा पीडितको लैङ्गिकतामाथि प्रश्न गर्दै ‘तिमी हिँजडा भएको कारण परिवारले अस्वीकार गरेको’ भन्दै अपमानित गरिएको थियो । ‘तिम्रो लिङ्ग हेर्न हामीले आफ्नै महिला (सुनिता घिमिरे) ल्याएका छौँ, तिमीले केटी भएको पुष्टि गर्नुपर्छ,’ भन्दै सुब्बाले जबरजस्ती शरीर तलासीका लागि दबाब दिएको पीडितले जाहेरीमा उल्लेख गरेकी छन् ।
पूर्वमन्त्री सुब्बाले भने आरोप अस्वीकार गरेका छन् । पीडितका ससुरा गोपाल आफ्नै घरमा बस्ने व्यक्ति भएकाले परिवारमा बिखण्डन हुन लाग्दा आफू ‘छलफल’ का लागि मात्र गएको उनको दाबी छ । ‘म छलफलमा गएको हुँ, यो विषयलाई अतिरञ्जित बनाइयो,’ उनले भने ।




